वेबटिभी खबर
काठमाडौं । राष्ट्रियसभा मार्फत् सरकारलाई देशको शान्ति सुव्यवस्था, शान्तिप्रक्रिया, भ्रष्टाचार न्यूनीकरण, सुशासन, सडक यातायात र यात्रा तथा चिसोबाट नागरिकलाई राहत पुर्याउन चाल्नुपर्ने कदमकाबारेमा ध्यानाकर्षण गराइएको छ ।
राष्ट्रियसभाको आजको विशेष समयमा भाग लिने सदस्यले नवगठित राष्ट्रिय एकताको सरकारले मुलुकलाई विकास, समृद्धि र सुशासनतर्फ अघि बढाउन ढोका खुल्ला भएको धारणा राखे ।
नेकपा (माओवादी केन्द्र) का नरबहादुर विष्टले नवगठित राष्ट्रिय एकताको सरकारलाई मुलुकको शान्ति सुरक्षा, शान्ति प्रक्रिया, विकास, सुशासन र समृद्धिको मुख्य लक्ष्य बनाएर काम गर्न सुझाव दिए ।
उनले भने, ‘सबै उमेर समूहका व्यक्ति समेटिएको वर्तमान सरकारले मुलुकको आवश्यकता र जनताको आकाक्षालाई सम्बोधन गर्न सक्षम हुनेछ ।’
नेपाली कांग्रेसकी कमला पन्तले मुलुकको सडक यातायात अस्तव्यस्थ र पीडा दायिक रहेकाले तत्काल सुधारको आवश्यकताबारे बताइन् ।
उनले भनिन्,‘यात्राका लागि टिकट पाइन्न, कोचाकोच हुँदा महिला हिंसा हुन्छ, महिलाको अस्मिता जोगाउन कठिनछ, भाडादर मुखको बोलीअनुसार छ, यसमा सरकारको विशेष ध्यान पुगोस्, ई–टिकटको व्यवस्था गरियोस् ।’
एमालेकी तुलसादेवी दाहाल देशभित्रको आन्तरिक बसाइँसराइले भूगोलका आधारमा जनसङ्ख्याको सन्तुलन र सामाजिक विविधतामा असर परेकाले बेलैमा त्यसको व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराइन् ।
उनले भनिन्,‘भ्रष्टाचार न्यूनीकरण र सुशसान कायम गर्नु आजको प्राथमिकता हो, तराईमा भइरहेको शीतलहर र हिमाली क्षेत्रमा बढिरहेको चिसोबाट नागरिकलाई जोगाउन न्यानो कपडा र दाउराको व्यवस्था गर्न आवश्यक छ ।’
नेकपा (एकीकृत समाजवादी) की गरिमा शाह नेपाली तीर्थयात्रु बोकेर गएको बस भारतको लखनउमा दुर्घटना हुँदा त्यसमा सवारको निधन भएकामा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरिन् ।
नेकपा (माओवादी केन्द्र) की बिना पोखरेलले नयाँ सरकार इन्द्रेणीरुपमा राष्ट्रिय सरकारकारुपमा परिणत भएकाले सबै नेपाली जनतामा उत्साह बढेको धारणा राखिन् ।
उनले भनिन्,‘यो सरकार सुशासन दिन सक्षम हुनेछ, मुलुकलाई समृद्धिमा लैजाने ठूलो अवसर मिलेको कुरा प्रधानमन्त्रीले प्राप्त मतले पुष्टि गरेको छ ।’
एमालेकी सुमित्रादेवी बिसीले आवश्यक सुरक्षा सतर्कता अपनाउन नसक्दा मुलुकमा हवाई दुर्घटना पटक–पटक दोहरिएको बताइन् ।
उनले भनिन्,‘हवाई यात्रालाई विश्वासनीय र परपर्दो तुल्याउन उडाउन अघि प्राविधिक परीक्षणलाई कडाइका साथ लागू गर्न आवश्यक छ । मुलुकको शान्ति सुव्यवस्थामा खटिएका नेपाल प्रहरीको आफ्नै व्यवस्थापन निकै अप्ठ्यारोमा छ, त्यसमा सुधार आवश्यक छ, राहदानी वितरणमा पनि सहज र सरल हुनुपर्छ ।’
नेपाली कांग्रेसकी शारदादेवी भट्ट देशमा सबैभन्दा बढी पीडामा किसान रहेकाले उनीहरुलाई खेतीपातीमा सहयोग पुर्याउन समयमै मलखाद्य उपलब्ध गराउनेतर्फ सरकारको ध्यानाकर्षण गराइन् ।
नेपाली कांग्रेसका नारायणदत्त मिश्रले काठमाडाकै टुँडिखेल मिचिएको तथा प्रतिपक्षमा रहेपनि कांग्रेसको काँधमा अहिले पनि सबैखाले शक्तिलाई मिलाएर अघि बढनुपर्ने दायित्व रहेको बताए ।
माओवादी केन्द्रका गोपीबहादुर सार्की आछामीले वर्तमान सरकार गठनपछि राजनीति दलप्रति जनताको निकै आशा र भरोसा बढेको बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij