वेबटिभी खबर
सोलुखुम्बु । यो वर्ष समयमा हिउँ र पानी नपर्दा हिमाली जिल्ला सोलुखुम्बुका किसान चिन्तित भएका छन् ।
विगतका वर्षमा मंसिर र पुसमै हिउँ पर्ने सोलुखुम्बुमा यसवर्ष माघ लागिसक्दा पनि हिउँ नपर्दा बालीनाली सुक्न थालेका छन् भने हिमालहरू कालो पहाडमा परिणत हुँदै गएका हुन् ।
विगतमा यतिबेला यहाँका खेतबारी र डाँडापाखा सेताम्मे हिउँले ढाकिन्थे भने यसवर्ष हिउँ नपर्दा डाँडापाखा उराठलाग्दा र खेतबारी सुक्खा भएको लिखुपिके गाउँपालिका-५ का कामी छिरी शेर्पाले बताए ।
जिल्लाको माथिल्लो क्षेत्र खुम्बमा गएको वर्ष पुस लाग्न नपाई हिउँ परेको थियो । यस वर्ष माघमा समेत हिउँ नपर्दा आलु, उवा, गहुँ जस्ता बालीबारीमै सुक्नथालेको किसानहरू बताउँछन् ।
हिउँ नपर्दा बारी सुक्खा बन्दै गएको छ भने लगाइएको बालीहरु सुक्दै गएको मा दूधकोसी गाउँपालिका-५ की हस्तकला राईले जानकारी दिइन् । समयमा हिउँ नपर्दा र पानी नपर्दा यो वर्ष गत वर्ष जस्तो धेरै चिसो पनि महसुस नभएको सोलुदूधकुण्ड नगरपालिका-३ कामिङमार शेर्पाको भनाइ छ ।
हिउँ पर्ने समयमा हिउँ नपर्नु र मौसमसमेत तातिँदै जाँदा यहाँका नागरिकहरू अच्चमित बनेका छन् । वन जंगलको तीव्र फँडानी, विभिन्न हानिकारक ग्यासहरूको उत्सर्जन लगायतका कारण जलवायुमा परेको असरले वातावरणमा यी परिवर्तनहरू देखापरेको वातावरणविद् राजन थापाले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij