Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

माघेसंक्रान्ति नजिकिँएसँगै तरुल खन्न र बिक्री गर्न व्यस्त किसान

माघेसंक्रान्ति नजिकिँएसँगै तरुल खन्न र बिक्री गर्न व्यस्त किसान

  • 325
    SHARES
  • माघेसंक्रान्ति नजिकिँएसँगै तरुल खन्न र बिक्री गर्न व्यस्त किसान

    नवलपरासी । माघेसंक्रान्ति नजिकिँदै जाँदा तरुल खन्न र बिक्री गर्न किसान व्यस्त भएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा उत्पादन भएको तरुल खनेर बजारमा बिक्री गर्न उनीहरूलाई भ्याइनभ्याइ भएको हो ।

    माघेसंक्रान्तिमा तरुलको माघ धेरै हुने हुँदा यतिबेला किसानले आफ्नो बारीमा लगाएको तरुल खनेर बजारसम्म लैजाने काम गरिरहेका छन् ।

    माघेसंक्रान्तिमा तरुलको माग पनि हुने र सहजरूपमा बिक्री हुने भएपछि आफूले लगाएको तरुल खनेर बिक्रीका लागि बजार लगेको हुप्सेकोट गाउँपालिका-५ का मकरसिंह सारुमगरले बताए ।

    अहिले तरुलको माग धेरै हुन्छ, बिक्री गर्न पनि समस्या हुँदैन, यसैले अहिले लगाएको सबै तरुल खनेर बजार पुर्‍याइयो’, सारुमगरले भने । उनले यस वर्ष करिब दुई क्विन्टल तरुल बेचेको जानकारी दिए ।

    धौवादीका शेरबहादुर झेडीमगरले पनि आफूले लगाएको तरुल खनेर बजारसम्म पुर्‍याइसकेका छन् । माघेसंक्रान्तिका दिनमा यसको महत्व हुँदा अहिले समयमै बजार पुर्‍याउन आफूहरू लागेको उनले बताए ।

    एकै दिनका लागि धेरै उपभोग हुने र अन्य समय खासै महत्व नहुने हुँदा धेरै लगाउनसमेत जोखिम रहेको किसानहरूको भनाइ छ । तर अहिले लगाएको जति बजारीकरणमा भने समस्या नभएको मगरले बताए ।

    पहाडी क्षेत्रमा धेरैजसो किसानले तरुल लगाउने गरेका छन । किसानले अदुवा खेतीसँगै बीचमा तरुल लगाउने गरेका छन् । सबैजसो किसानले पञ्जे (हात्तीपाइले) तरुल लगाउने गरेको उनको भनाइ छ ।

    यो तरुल स्वादिलो हुने र माग धेरै हुने भएपछि किसानले पञ्जे तरुल लगाउने गरेका हुन । केही वर्षयताबाट तरुल उत्पादनमा कमी हुँदै गएको किसान तिलक रानाले बताए । कीरा लाग्ने समस्याका कारण पछिल्ला केही वर्षयता उत्पादनमा कमी हुँदै गएको छ ।

    नवलपुरको पहाडी क्षेत्रबाट अहिले दैनिकजसो करिब १० क्विन्टल तरुल कावासोतीमा आउने गरेको कावासोतीमा तरुल थोक बिक्रेताका रूपमा काम गर्दै आएका व्यवसायी लालबहादुर सारुले बताए ।

    कावासोतीसहित दलदले क्षेत्रमा समेत सोही मात्रामा तरुल पहाडी क्षेत्रबाट किसानले ल्याउने गरेका छन् । नवलपुरमा उत्पादन भएको तरुल स्थानीय बजारसँगै पोखरा र काठमाडौंमा खपत हुने गरेको उनको भनाइ छ ।

    आफूले अहिले पहाडी क्षेत्रमा उत्पादन भएको तरुल दैनिकरूपमा पोखरा र काठमाडौं पठाउने गरेको सारुले बताए । दैनिकजसो किसानले ल्याएको तरुल बिक्रीमा समस्या नभएको र सबै खपत हुँदै आएको उनले जानकारी दिए ।

    सारुका अनुसार किसानले अहिले प्रतिकेजी ४५ सम्म बुझ्ने गरेका छन् । आफूहरूले बाहिरी जिल्ला पठाउँदा भने ढुवानीसहित सबै लागत जोडेर मूल्य प्रतिकेजी ७० देखि ८० सम्म पर्ने गरेको सारुले बताए ।

    नेपाली समुदायमा माघेसंक्रान्तिमा तरुल, सखरखण्डसँगै चाकु, सेलरोटीलगायतका परिकार खाने प्रचलन रहेको छ । 

  • सम्बन्धित विषय:

  • # तरुल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij