वेबटिभी खबर
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभामा रहेका सबै दल तथा स्वतन्त्र सांसदलाई सरकारको पक्षमा विश्वासको मत दिन आग्रह गरेको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयका आज बसेको बैठकले सबै राजनीतिक दल र स्वतन्त्र सांसदलाई विश्वासको मत दिन आग्रह गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा यही पुस १० गते नयाँ सरकार गठन भएको छ । सरकारले मंगलबार विश्वासको मत लिँदैछ । सरकार गठनको क्रममा कूल एक सय ६९ सांसदको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
संविधानअनुसार सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । माओवादी केन्द्रको संसदीय दलको आजको बैठकमा राष्ट्रियसभातर्फका दलका नेता एवम् उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सांसदहरूले निर्वाह गर्नुपर्ने समग्र भूमिकामा बारेमा दिशानिर्देश गरेको प्रमुख सचेतक पाण्डेले बताए ।
बैठकमा दलका नेता एवम् प्रधानमन्त्री दाहालले सबै सांसदलाई व्यक्तिगत रूपमा पनि सरकारको पक्षमा विश्वासको मत दिने वातावरण बनाउन र अन्य दलका सांसदहरूसँग पनि छलफल गर्न आग्रह गरेका थिए ।
बैठकमा प्रधानमन्त्री दाहालले सरकार गठनको क्रममा समर्थन गर्ने दल र सांसदका अलावा नेपाली कांग्रेसलगायतका अन्य दल तथा सांसदहरूसँग पनि छलफल भएको जानकारी गराए ।
बैठकमा प्रतिनिधिसभाको बैठकमा सांसदहरूले निर्वाह गर्ने भूमिकालाई रचनात्मक र जनपक्षीय बनाउने विषयमा समेत छलफल भएको प्रमुख सचेतक हितराज पाण्डेको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij