वेबटिभी खबर
काठमाडौं । भक्तपुर मध्यपुरथिमि-४ कि १९ वर्षे सुप्रिना श्रेष्ठले घरमै नागरिकता पाएकी छिन् । भक्तपुर जिल्ला प्रशासनको टोलीले घरमै गएर उनलाई नागरिकता दिएको हो ।
शारीरिक रूपमा अशक्त श्रेष्ठले स्थानीय तहको सिफारिस, जनप्रतिनिधिको सहयोग तथा सबै प्रशासनिक प्रक्रिया पूरा भएपछि घरमै नागरिकता पाउँदा खुसी भएको बताइन् ।
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्य अनुरुप प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा नेतृत्वको टोलीले उक्त सेवा सुरु गरेपछि श्रेष्ठले विना झन्झट नागरिकता पाएकी हुन् ।
सरकारी काम भन्ने वित्तिकै समयमै काम नहुने, लामो लाइन लाग्नुपर्ने झण्झटिलो हुन्छ भन्ने मानसिकतालाई चिर्दै शर्माले सेवा प्रवाहलाई चुस्त बनाउन उक्त अभियान सुरु गरेकी हुन् ।
कार्यालयको उक्त प्रयासले हिँडडुल गर्न नसक्ने अशक्त, अपांगता भएका नागरिकलाई सहज भएको छ । नागरिकताको प्रमाणपत्र नागरिक हुनुको पनि प्रमाण भएकाले यसको प्राप्तिपछि पासपोर्ट बनाउनेदेखि व्यापार व्यवसाय गर्नका लागि सहज भएको छ ।
‘आम नागरिकले सरकारी कार्यालयबाट लिने महत्वपूर्ण सेवामध्ये नागरिकता पनि एक हो’, प्रजिअ शर्माले भनिन्, ‘यस्ता सेवा नागरिकलाई घरमै दिन सकियो भने सरकारको महत्व अझै बढ्छ ।’
सेवा प्रदायक कार्यालयसम्म पुग्न नसक्ने नागरिकका लागि घरमै पुगेर नागरिकता वितरण सुरु भइसकेको उनले आफूले जनप्रतिनिधिसँग यसबारे जानकारी गराउन र त्यस्ता नागरिक भए सूचना दिन र समन्वय गरिदिन आग्रह गरेको बताइन ।
केही वर्ष अघिसम्म स्थानीय तहमा घुम्ती सेवामार्फत् त्यस्ता नागरिकले नागरिकता लिए पनि हाल घुम्ती सेवा बन्द छ । त्यसैले नागरिकको हकलाई शतप्रतिशत उपलब्धिमा पुर्याउन र सरकार भएको महसुस गराउन यो सेवा सुरु गरिएको उनको भनाइ छ ।
‘घरमै पुगेर नागरिकताको प्रमाणपत्र वितरण गर्दा व्यक्ति र परिवारमा राज्यप्रति सकारात्मक भावना उत्पन्न हुने गरेको हामीले पाएका छौँ’, प्रजिअ शर्माले भनिन्, ‘कतिपय अशक्त अपांगतालाई नागरिकता लिन कार्यालयमै ल्याइएको देख्दा दुःख लाग्छ ।’
यसअघि पनि प्रजिअ शर्माले अशक्त अपांगता र ज्येष्ठ नागरिकलाई घरघरमै गएर नागकिता वितरण गरेकी थिइन् । यसअघि सूर्यविनायक नगरपालिका-४ दधिकोटस्थित चरखण्डीका ९१ वर्षीय ज्येष्ठ नागरिक सूर्यबहादुर खड्कालाई घरमै पुगेर नागरिकता वितरण गरिएको उनले बताए ।
प्रजिअ शर्माले अशक्त, अपांगता र कार्यालयसम्म आउन नसक्ने ज्येष्ठ नागरिकलाई घरमै गएर नागरिकता वितरणको काम जारी रहने जानकारी दिइन् ।
प्रजिअ शर्मासँगै सहायक प्रजिअ माधवप्रसाद शर्मा र प्रमुख प्रशासकीय अधिकृत उर्मिला खतिवडा घिमिरेलगायत नागरिकता फाँटका कर्मचारीको टोली घरमै पुगेर जनप्रतिनिधिसमेत सहभागितामा नागरिकता वितरण गर्दै आएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij