वेबटिभी खबर
भक्तपुर । पनौती नगरपालिकाको माटोमा ६१ प्रतिशत माटोमा अम्लियपन भएको पाइएको छ । नगर क्षेत्रका ४६१ कृषकको खेतबारीमा चार दिन लगाएर गरिएको माटो परीक्षणमा माटोमा अम्लियपन देखिएको हो ।
प्रदेश राजधानी हेटौँडास्थित माटो तथा मल परीक्षण प्रयोगशाला तथा पनौती नगर कृषि तथा पशुपक्षी शाखाको संयुक्त आयोजनामा माटो परीक्षण गरिएको थियो । प्रयोगशालाका विज्ञ डा जनार्दन खड्काले पनौतीको माटोमा अत्यधिक अम्लियपना देखिएकाले यसलाई समस्याग्रस्त माटोका रुपमा लिइएको बताए ।
उनले भने, ‘युरियालगायतका रासायनिक मल कम गरी कम्पोष्ट मलको अधिकतम प्रयोग गर्नु राम्रो हुन्छ ।’ पनौतीको माटोको अम्लियपना कम गर्न प्रयोशालामार्फत् २१ मेट्रिक टन कृषि चुन उपलब्ध गराइने खड्काले बताए ।
साथै प्रयोगशालाले समस्याग्रस्त माटो सुधार गर्न ‘भकारो सुधार’ कार्यक्रम सञ्चालन गरिने योजना बनाएको छ । खड्काले पनौतीका कृषकले आफ्नो खेतबारीमा प्रांगारिक पदार्थ पूर्ति हुने प्रकारका जैविक मल प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
पनौती नपा–२ का अगुवा कृषक लक्ष्मण हुमागाईंले भने, ‘रासायनिक मल र विषादी प्रयोगले माटो बिग्रिएको हो, यिनको प्रयोग कम गर्दै जाने हो भने माटोको अम्लियपना घट्दै जान्छ ।’
रासायनिक मल र विषादी प्रयोग कम गर्दै जैविक मल तथा कृषि चुन प्रयोगपश्चात् माटोमा रहेको अम्लियपना न्यूनीकरण हुँदै उत्पादकत्व शक्ति बढ्दै जाने अपेक्षा गरिएको छ ।
बाग्मती प्रदेशअन्तर्गत काठमाडौंको दक्षिणकाली नगर, काभ्रेपलाञ्चोकको पनौती, चितवनको खैरेनी नगर, भक्तपुरको चाँगुनारायण नगर र ललितपुरको महांकाल गाउँपालिकामा भकारो सुधार कार्यक्रम सञ्चालन गरिने भएको छ ।
खड्काका अनुसार छनोट भएका पाँच स्थानीय तहका जैविक मल प्रयोग गर्ने ५० कृषकका लागि १५ हजार अनुदानसमेत दिइनेछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij