वेबटिभी खबर
जनकपुर । मधेश प्रदेशसभा सचिवालयको आह्वानमा सोमबार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक बस्ने भएको छ ।
नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथग्रहणलगायतका काममा सर्वदलीय सहमतिका लागि सोमबार दिउँसो १ बजे बैठक बस्न लागेको प्रदेशसभा सचिवालायले जनाएको छ ।
मधेश प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले प्रदेशसभामा प्रतिनिधित्व गर्ने १० दलको सहभागितामा सर्वदलीय बैठक बस्न लागेको जानकारी दिए ।
‘दलहरूसँगको समन्वयमा बैठक बस्दैछ’, सचिव यादवले भने, ‘त्यसपछि हामी शपथग्रहण र प्रदेशसभा बैठकको तयारीमा जुट्छौँ ।’ नेपालको संविधानको धारा १७९ अनुसार प्रदेसभाका सदस्यले प्रदेशसभा बैंठकमा पहिलो पटक भाग लिनुअघि कानुन बमोजिम शपथ लिनुपर्नेछ ।
त्यसैगरी संविधानको धारा १८३ (१) बमोजिम प्रदेश प्रमुखले प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले बीस दिनभित्र अर्थात् यही पुस २१ गतेभित्र प्रदेशसभाको अधिवेशन आहवान गरिसक्नुपर्ने छ ।
निर्वाचन आयोगले यही पुस २ गते अन्तिम परिणाम घोषणा गरेकाले पुस २१ गतेभित्र अधिवेशन बोलाइसक्नु पर्ने र त्यसअघि नै नवनिर्वाचित प्रदेशसभा सदस्यले शपथ लिइसक्नुपर्ने हुँदा त्यहीअनुसार सचिवालय तयारी अवस्थामा रहेको सचिव यादवले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij