Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

गुल्मीमा स्वास्थ्य बीमा गर्नेको संख्या घट्दै

गुल्मीमा स्वास्थ्य बीमा गर्नेको संख्या घट्दै

  • 369
    SHARES
  • गुल्मीमा स्वास्थ्य बीमा गर्नेको संख्या घट्दै

    गुल्मी । गुल्मीमा कूल जनसंख्याको ३८ प्रतिशत मात्र स्वास्थ्य बीमामा सहभागी भएको पाइएको छ । झन्झटिलो प्रक्रिया, जनचेतनाको कमी र बिमाको महत्व नबुझेका कारण स्वास्थ्य बीमामा सहभागी हुनेको संख्या कम देखिएको हो ।

    स्वास्थ्य बीमा बोर्ड शाखा कार्यालय गुल्मीका दर्ता अधिकारी धुव्रराज बोगटीले गुल्मीमा अहिलेसम्म कूल ४० हजार एक सय १८ घरपरिवारका ९४ हजार पाँच सय ८९ जनाले स्वास्थ्य बीमा गराएको जानकारी दिए ।

    राष्ट्रिय जनगणना, २०७८ अनुसार गुल्मीको कूल जनसंख्या दुई लाख ४६ हजार आठ सय ३३ रहेको छ । यो अनुसार जम्मा ३८.३२ प्रतिशतले मात्र स्वास्थ्य बिमा गराएको देखिन्छ ।

    गुल्मीमा २०७६ सालदेखि स्वास्थ्य बीमा लागू भएको हो । स्वास्थ्य बिमा बोर्ड जिल्ला शाखाका अनुसार आर्थिक वर्ष २०७६/७७ मा तीन हजार आठ घरपरिवारका सात हजार आठ सय १७ जनाले स्वास्थ्य बिमा गराएका थिए ।

    यसबाट ५३ लाख ४५ हजार संकलन भएको थियो । आव २०७७/७८ मा कूल २१ हजार एक सय ५८ घरपरिवारका ५८ हजार तीन सय ९२ जनाले स्वास्थ्य बीमा गराएका थिए ।

    यसबाट नवीकरणसहित तीन करोड ५८ लाख ९२ हजार संकलन भएको थियो । आव २०७८/७९ मा भने स्वास्थ्य बिमा गराउनेको संख्या घटेको छ । कूल १५ हजार नौ सय ५२ घरपरिवारका २८ हजार तीन सय ८० जनाले स्वास्थ्य बीमा गराएका छन् ।

    यसमा अघिल्लो पटकको नवीकरणसहित चार करोड ७५ लाख ६० हजार संकलन भएको स्वास्थ्य बीमा बोर्ड शाखाका प्रमुख दर्ता अधिकारी बोगटीले बताए ।

    गुल्मी अस्पतालमा स्वास्थ्य बीमामार्फत उपचारको सेवा लिने बिरामीको संख्या निकै न्यून छ । आव २०७८/७९ मा सो अस्पतालबाट कूल ६९ हजार चार जनाले उपचारको सेवा लिए पनि २१ हजार छ सय जनाले मात्र स्वास्थ्य बीमामार्फत सेवा लिएको अस्पतालका प्रमुख डा.उत्तम पच्याले जानकारी दिए ।

    यस वर्ष स्वास्थ्य बीमा गराउने संख्या भने बिमा बोर्डले एकीकृत गर्दैछ । यस अवधिमा गुल्मी अस्पतालबाट कूल ४७ हजार चार सय चार बिरामीले स्वास्थ्य बीमामार्फत नभई शुल्क तिरेर उपचार गराएका छन् ।

    स्वास्थ्य बीमा गराएमा तीन हजार पाँच सयमा घरका पाँच जनाले एक लाख बराबरको उपचार सेवा लिन सक्छन् । स्वास्थ्य बीमामार्फत उपचार गराउने बिरामीले गुल्मी अस्पतालबाट कूल चार करोड ७३ लाख ७८ हजार बराबरको सेवा लिएको डा.पच्याको भनाइ छ ।

    पछिल्ला वर्षमा तुलनात्मकरूपमा बिमितको संख्या बढ्नुपर्ने हो । अस्थायी बसोबास गर्नेले अन्यत्र स्वास्थ्य बीमा गराएको एउटा कारण हुनसक्ने शाखाको अनुमान छ ।

    सबैलाई स्वास्थ्य बीमामा समेट्न नसकिएको बीमाका दर्ता अधिकारी धुव्रराज बोगटीले बताए । जिल्लाभर ९३ बिमा दर्ता सहयोगीमार्फत काम भइरहेको छ । स्वास्थ्य बीमाप्रति नागरिकलाई प्रेरित गर्ने काम भने कमै भएको पाइन्छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij