Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

सांसद्को शपथ दिउँसो १ बजे हुने

सांसद्को शपथ दिउँसो १ बजे हुने

  • 326
    SHARES
  • सांसद्को शपथ दिउँसो १ बजे हुने

    काठमाडौं । प्रतिनिधिसभामा नवनिर्वाचित सदस्यको पद तथा गोपनीयताको शपथग्रहण आज हुँदैछ । संघीय संसद् सचिवालयका अनुसार संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे शपथग्रहण कार्यक्रम निर्धारण गरिएको छ ।

    नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि संघीय कानूनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ ।

    सभामुख चयन हुनुअघि ज्येष्ठ सदस्यले प्रतिनिधिसभा सदस्यलाई शपथग्रहण गराउने व्यवस्था छ । ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले शपथग्रहण गराएपछि अन्य सदस्यलाई शपथ गराउने प्रावधान छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबरालाई बुधबार पद तथा गोपनीयताको शपथ गराएकी थिइन् ।

    प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ ।

    शपथग्रहणका लागि निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि एवं हालसालै खिचेको पासपोर्ट साइजको फोटो दुई प्रतिसहित उपस्थित हुन संघीय संसद् सचिवालयले आग्रह गरेको छ ।

    राष्ट्रिय पोशाक वा आ-आफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थित भइदिनसमेत सचिवालयले आग्रह गरेको छ ।

    प्रतिनिधिसभाका कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरि सो अनुवादको प्रतिसहित संघीय संसद् सचिवालयमा उपलब्ध गराउन आग्रह गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # सांसद्

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij