वेबटिभी खबर
काठमाडौं । नेकपा एमाले स्थायी समितिको बिहीबारको बैठकले राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीको ह्विप उल्लंघन गर्ने जनप्रतिनिधिका क्रियाकलापप्रति आपत्ति जनाएको छ ।
एमाले वरिष्ठ नेता माधव नेपालपक्षले राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा बादललाई मत नदिएको बारेमा गम्भीर छलफल भएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।
बैठकले पार्टीविरोधी गतिविधि र पार्टीको विरुद्धमा मतदान गर्ने प्रवृत्तिको भर्त्सना गरेको र यो घटनालाई क्षम्य मान्न नसकिने निर्णय गरेको ज्ञवालीले जानकारी दिए ।
उनले कार्यदल बनेपछि पनि पार्टीका विपक्षमा मतदान गर्ने कुरालाई सामान्य रूपमा लिन नसकिने स्पष्ट पारे ।
‘जेठ २ गते कार्यदल नबन्दासम्मको अवधिलाई कट अफ डेट मान्न सकिन्थ्यो । तर कार्यदल बनेर पार्टी एकताको कुरा अघि बढेपछि पनि यस्ता घटना हुन्छन् भने यसलाई सामान्य रूपमा लिन सकिन्न,’ ज्ञवालीले भने ।
बैठकमा माधव नेपालपक्षका नेताहरुले एमालेमा नरहने धारणा व्यक्त गरेकाले उनीहरुसँग निर्णायक छलफल गर्ने र त्यसपछि पनि पार्टीविरुद्ध उभिने क्रम जारी रहे वार्ता प्रक्रिया बन्द गरिने विषयमा पनि बैठकमा छलफल भएको ज्ञवालीले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij