वेबटिभी खबर
चितवन । चितवन जिल्लामा साउन यता उपचारका लागि आएका ६ जनाको डेंगुकाे संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला र जिल्लाबाहिरका रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार हालसम्म १० हजार नौ सय ७४ जनाको परीक्षण गर्दा दुई हजार नौ सय ४९ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये २ हजार ५० जना चितवनका हुन् भने अन्य बाहिरी जिल्लाका रहेका छन् । ठेगाना नखुलेका दुई सय ९१ र ठेगाना खुलेका ६ सय आठजना रहेको कार्यालयले जनाएको छ ।
जिल्लामा सबैभन्दा बढी भरतपुर महानगरपालिकामा संक्रमित भेटिएका छन् । यहाँ एक हजार चार सय ५० जनामा डेंगु संक्रमण देखिएको केसीले बताए । उनका अनुसार खैरहनी नगरपालिकामा एक सय ६४, माडी नगरपालिकामा ३५, रत्ननगर नगरपालिकामा दुई सय ४३ जनामा संक्रमण देखिएको थियो ।
यस्तै राप्ती नगरपालिकामा ९६, कालिका नगरपालिकामा ४८ र इच्छाकामना गाउँपलिकामा १४ जनामा डेंगु संक्रमण देखिएको थियो । कार्यालयका अनुसार जिल्लामा भेटिएका संक्रमितमध्ये एक हजार एक सय ३६ पुरुष र नौ सय १४ जना महिलामा रहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij