Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

एक गाग्री पानी ल्याउन २ घण्टा हिँड्नुपर्ने

एक गाग्री पानी ल्याउन २ घण्टा हिँड्नुपर्ने

  • 372
    SHARES
  • एक गाग्री पानी ल्याउन २ घण्टा हिँड्नुपर्ने

    गुल्मी । गुल्मी मदाने गाउँपालिका-६ पुर्कोट दहकी पवित्रा विकको हरेक बिहान कम्तीमा २ घण्टा एक गाग्री पानी भर्नका लागि खर्चिन्छ ।

    उनी विगत १२ वर्षदेखि हरेक बिहान एक गाग्री पानी भर्नका लागि एक घण्टा पैदल दूरी गरी फुर्कोटदेखि थाम्का पुग्छिन् । यसरी दुःख गरी ल्याएको पानीले खाना पकाएपछि उनी गिट्टी कुट्न छिर्नी पुग्छिन् ।

    विक ४६ वर्ष पुग्दा श्रीमानको मृत्यु भएपछि घर खर्चका लागि गिट्टी कुट्ने काममा लागेकी हुन् । तर एक दशकभन्दा बढी समयदेखि पानीका लागि संर्घषरत उनी लगायतकाको समस्या समधानका लागि आश्वासन धेरै आएपनि व्यवहारिक रूपमा कसैले पनि काम गरेको छैनन् ।

    स्थानीय सरकारले पनि समस्या समाधानमा चासो नदेखाएको उनको गुनासो छ । विक जस्तै फुर्सी चुँदाराको पनि दैनिकी पनि उस्तै छ । खानेपानी बोकेर जोहो गर्नुपर्ने बाध्यताका बीच उनको घरखर्च चलाउनका लागि गिट्टी कुट्नुपर्ने बाध्यता छ ।

    जिल्लाभर चुनावी रौनकताले छोएका बेला उनीहरू गिट्टै कुट्न मै व्यस्त हुन्छन् । ‘हामी हरेक दिन सडक छेउ बसी गिट्टी कुटिरहेका छौँ’, विकले भनिन्, ‘चुनावले होला झण्डा फहराउँदै गाडी हुँइकिएका छन् तर हाम्रो हालचाल सोध्न रोकिएको थाहा छैन ।’

    उनीहरू कम्तीमा यहाँको खानेपानीको समस्या समाधान गरिदिए हुने बताउँछन् । पुर्कोट दहकै ६० वर्षे कमला चुँदारा पनि खानेपानीको समस्या समाधान छिटो होस् भन्ने बताउँछिन् ।

    ‘म जान्ने भएदेखि नै खानेपानीको समस्या छ, तर समस्या समाधानमा कसैले चासो देखाएन’, उनले भनिन्, ‘यो समस्या समाधान भए हाम्रो दैनिकी सहज हुने थियो ।’

    उनीहरूले गिट्टी कुट्ने ठाउँ छिर्नी सालझण्डी-ढोरपाटन राजमार्गअन्तर्गत मदाने गाउँपालिकामा हो । यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादी नेतृ रामकुमारी झाँक्री र नेकपा एमालेको तर्फबाट गोकर्ण विष्ट उम्मेदवार हुन् ।

    प्रदेशसभा सदस्यका लागि सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का वुद्धि जिसी र नेकपा एमालेका तर्फबाट दिनेश पन्थी उम्मेदवार छन् । थाम्का टोलमा रहेको खानेपानीको समस्या केही दिनमै समाधान हुने पुर्कोट दहका वडाध्यक्ष मनिराम थापाले बताए ।

    वडाध्यक्षले अग्लो स्थानमा सानो बस्ती रहेकाले खानेपानी पुर्‍याउन लिफ्टिङ आयोजना अन्तिम चरणमा पुगेकाले केही दिनमै समाधान हुने जिकिर गरे ।

  • सम्बन्धित विषय:

  • # पानी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij