वेबटिभी खबर
काठमाडौं । पूर्वमन्त्री प्रेमबहादुर आलेले डोटीको पूर्वीचौकी गाउँपालिका-३ गैरागाउँमा मंगलबार राति गएको भूकम्पमा परी मृत्यु भएका ६ जनाको परिवारहरूलाई एक लाख ५० हजार राहत दिने घोषणा गरेका छन् ।
बुधबार बिहान भूकम्पका कारण धनजनको क्षति भएको क्षेत्र पूर्वीचौकी गाउँपालिका-३ गैरागाउँ पुगेका पूर्वमन्त्री आलेले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारलाई काजक्रियामा सहयोग पुगोस् भनेर उनीहरूका परिवारलाई जनही २५ हजारका दरले एक लाख ५० हजार राहतको दिने बताएका हुन् ।
आफूले उक्त रकम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तत्कालै उपलब्ध गराउने उनले मृतकका परिवारलाई भेटेर बताएका हुन् । यस्तै अन्य निकाय तथा क्षेत्रबाट पनि भूकम्प पीडितहरूका लागि आवश्यक राहतको व्यवस्था गरिदिन आलेले आग्रह गरेका छन् ।
गएरातिको भूकम्पमा परी पूर्वीचौकी गाउँपालिका-३ गैरागाउँका ६ जनाको मृत्यु भएको छ भने अन्य सातजना गम्भीर घाइते भएका छन् । डोटी निवासी पूर्वमन्त्री आले आसन्न मंसिर ४ को निर्वाचनमा सोही जिल्लाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार पनि हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij