वेबटिभी खबर
काठमाडौं । चलचित्र ‘महापुरूष’ शुक्रबार (आज)बाट रिलिज भएको छ । फ्राइडे चलचित्रअन्तर्गत एकल रिलिज भएको चलचित्र नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा प्रदर्शन भइरहेको छ ।
चलचित्रले प्रदर्शनको पहिलो दिन नै हाउसफुलको सुरुवात गरेको छ । बिहानी शोमा नै दर्शक भरिभराउ देखिएपछि कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँले खुसी व्यक्त गरे । काठमाडौंका मल्टिप्लेक्सहरूमा बिहानी शोमै चलचित्र हाउसफुल भएको हो । चलचित्रको शुक्रबार बिहानैदेखि अकुपेन्सी आक्रामक देखिएको छ ।
बानियाँले भने, ‘मुख्य कुरा चलचित्र हेरेर निस्किनु भएका दर्शक खुसी र सन्तुष्ट हुनुहुन्छ । वर्ड अफ माउथले चलचित्रलाई झनै फाइदा गर्ने विश्वास छ ।’
चलचित्रको बिहानी शो नै आक्रमक देखिएपछि कार्यकारी निर्माता बानियाँसँगै अभिनेता हरिवंश आचार्य, अभिनेत्री गौरी मल्ल, निर्देशक प्रदीप भट्टराई, नव प्रस्तुतिमा रहेका अरूण क्षत्री र अन्जना बराइली हल पुगेर दर्शकसँग प्रतिक्रिया लिएका थिए ।
बलियो मार्केटिङशैली, पब्लिसिटी र ट्रेलरबाटै चलचित्रले प्राप्त गरेको संवेदनाको प्रभाव ओपनिङमा देखिरहेको छ । चलचित्रको स्वदेशमा मात्र नभई अष्ट्रेलियामा पनि उत्तिकै प्रतिक्षा रहेको रंग पत्रकार राजन घिमिरेले बताए ।
काठमाडौं, चितवन र इटहरीमा भएका तीन अलग प्रिमियरको प्रतिक्रियाको फाइदासमेत चलचित्रलाई हुनेछ । मल्टिप्लेक्स चेन क्युएफएक्सले मात्रै देशभरका आफ्ना आउटलेटमा ४१ शो पाएको छ ।
क्युएफएक्स अन्तर्गत दरबार सिनेम्याक्समा ३ शो, भक्तपुरमा रहेको क्युएफएक्समा ५ शो, लबिम मलमा ४ शो , सिभिल मलमा ५ शो , ठमेलमा रहेको छायाँ सेन्टरमा २ शो दिएको छ ।
क्युएफएक्सकै मोफसलअन्तर्गत नेपालगन्जमा ४ शो, बुटवलमा ४ शो, दमौलीमा ४ शो, नारायणघाटमा रहेको जलमामा ४ शो, विराटनगरमा ३ शो, विर्तामोडमा ३ शो दिएको छ ।
काठमाडौंमा रहेको मल्टिप्लेक्सहरूमा कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा ४ शो, दरबारमार्गस्थित राइजिङ मलमा रहेको क्युज सिनेमाजमा ३ शो, गोंगबुमा रहेको बिएसआर मुभिजमा ५ शो, सुन्धारास्थित सिटिसी मलमा रहेको सिने डी सेफमा ५ शो र चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबमा ५ शो रहेको छ ।
बानेश्वरमा रहेको वान सिनेमाजमा ५ शो र कालिमाटीमा ४ शो दिएको छ । यस्तै, आइएनआइ सिनेमाजअन्तर्गत लोत्से मलमा ४ शो र बुटवलमा रहेको आइएनआइमा ४ शो दिएको छ ।
लेखकसमेत रहेका निर्देशक भट्टराईले अघिल्लो चलचित्रहरूलाई विश्वास गरेर हलसम्म आइपुग्ने दर्शकको समय र पैसा खेर नजाने बताए । उनले भने,‘हामीलाई गर्ने विश्वासले दायित्वसमेत बढाएको छ । हामीले हाम्रो साख गिर्ने काम गरेका छैनौँ । मनोरञ्जनसँगै दर्शकलाई राम्रो कथा पसकेका छौँ ।’
चलचित्रको प्रिमियर मार्फत प्राप्त प्रतिक्रियाले आफूहरूलाई उत्साहित बनाएको कलाकारसमेत रहेका कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँले बताए ।
चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, गौरी मल्ल, शिखा तामाङ, कोपिला थापा, शिरू विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेललगायतको अभिनय रहेको छ । यही चलचित्रमार्फत अरुण क्षेत्री र अन्जना बराइलीले डेब्यु गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij