वेबटिभी खबर
महोत्तरी । महोत्तरीको बर्दिबास अस्पतालले धनतेरसका दिन साढे तीन लाख बराबरका स्वास्थ्य सामग्री प्राप्त गरेको छ ।
पचास भन्दा बढी कोठाको चार तले भवनको अस्पतालले स्वास्थ्य जाँच र उपचारमा आवश्यक उपकरण प्राप्त गरेपछि साधन सम्पन्न बन्दै गएको हो ।
वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा समाज विकास केन्द्र महोत्तरीले अस्पताललाई तीन लाख ४७ हजार छ सय ६२ मूल्य बराबरका स्वास्थ्य सामग्री प्रदान गरेको थियो ।
केन्द्रले अस्पताललाई बेबी वार्मर एक थान, इक्जामिनेसन बेड पाँच सेट, इन्स्ट्रयुमेण्ट ट्रली-दुई सेट, ड्रेसिङसेट पाँच, स्ट्रेचर पाँच सेट र ह्वीलचियर पाँच सेट प्रदान गरेको थियो । उपकरण प्राप्त भएपछि प्रसूति कक्ष सञ्चालनका लागि महत्वपूर्ण सहयोग पुगेको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा.कृष्ण महर्जनले बताए ।
केन्द्रले कोभिड-१९ प्रतिकार्य कार्यक्रमअन्तर्गत सामग्री अस्पताललाई प्रदान गरेको जनाएको छ । कोभिड-१९ सघन संक्रमण बढेका बेला बर्दिबास अस्पतालले कोभिड-१९ जाँच (पिसीआर र आरडिटी जाँच), क्वारेन्टिन र भेन्टिलेटरसहितको आइसोलेसन सञ्चालन गरी सेवा प्रवाह गरेकाले सहयोग प्रदान गरिएको केन्द्रले जनाएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष जयनारायण शर्माले अस्पताललाई युनिसेफ नेपालले पनि उपकरण दिन लागेको बताए ।
जिल्लाको सुदूरउत्तरवर्ती क्षेत्रअवस्थित यो अस्पतालबाट महोत्तरीका बर्दिबास, भङ्गाहा, औरही र गौशालासहित छिमेकका सर्लाहीको ईश्वरपुर र धनुषाको मिथिला नगरपालिका क्षेत्रका सर्वसाधारणले स्वास्थ्य सेवा पाउँदै आएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij