Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

योग्य व्यक्तिलाई पदक दिइएको हो : गृहमन्त्री खाण

योग्य व्यक्तिलाई पदक दिइएको हो : गृहमन्त्री खाण

  • 350
    SHARES
  • योग्य व्यक्तिलाई पदक दिइएको हो : गृहमन्त्री खाण

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले सरकारले योग्य व्यक्तिलाई पदक प्रदान गरेको बताएका छन् । गृहमन्त्री खाणले निर्वाचनलाई प्रभावित गर्नेगरी आफ्नो जिल्लाका मानिसहरूलाई पदक वितरण गरेको विपक्षीको आरोपको खण्डन गर्दै उनले रूपन्देहीमा योग्य रहेकाले उनीहरूलाई पदक दिइएको बताए ।

    विश्व पोलियो दिवसमा रूपन्देहीमा क्रियाशील रोटरी क्लब एवं रोट्रयाक्ट क्लबले भैरहवामा आयोजना गरेको पोलियो शान्ति र्यालीको समापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खाणले विपक्षीले रूपन्देहीका युवाको मूल्यांकन गर्न नसकेको समेत बताए ।

    उनले भने, ‘रूपन्देहीमा धेरै प्रतिभा रहेका छन् । रूपन्देही जिल्ला नै रचनात्मक रहेको छ । यहाँ पदक दिनुपर्ने अझ धेरै हुनुहुन्थ्यो तर समितिलाई छनोट गर्नुपर्ने बाध्यता रहेको थियो । भविष्यमा उहाँहरूलाई पनि समेट्ने छौँ ।’

    रूपन्देहीको विकासमा रोटरी, रोट्रयाक्ट क्लबमा आबद्ध युवाको सहभागिता महत्वपूर्ण रहेको उनले बताए । जिल्लामा विभिन्न सामाजिक काममा मात्र होइन विभिन्न विपद्का समयमा यस्ता क्लबको सहयोग प्रशंसनीय रहेको उनको भनाइ छ ।

    पाँच दलीय गठबन्धनमा नेपाली कांग्रेसका तर्फबाट रुपन्देही क्षेत्रनम्बर-३ को  प्रतिनिधिसभा उम्मेदवार रहेका गृहमन्त्री खाणले नेपाल सरकार युवालाई कुलतबाट जोगाउन र आगूऔषधको नियन्त्रणमा लागे पनि एकल प्रयासले मात्र नपुग्ने बताउँदै यसमा युवाले पनि सहकार्य गर्न आग्रह गरे ।

    उनले रूपन्देहीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले अवसर बढाएकाले युवा विदेश जानुभन्दा यहीँ रचनात्मक व्यवसायमा लाग्न पनि आग्रह गरेका छन् । गठबन्धनकै तर्फबाट लोसपाबाट प्रदेशसभा उम्मेदवार सन्तोष पाण्डेले रोटरी क्लब र रोट्रयाक्ट क्लबलाई सहरी क्षेत्रका साथै ग्रामीण केन्द्रमा पनि सामाजिक काममा लाग्न आग्रह गरे ।

    उनले अहिले सहरी तथा ग्रामीण क्षेत्रमा पनि लागूऔषध लगायतका कुलतमा युवा फस्दै गइरहेकाले यस्ता क्लबले दुवै क्षेत्रमा निगरानीका साथै सचेतनामूलक काम गर्न सुझाव दिए ।

    ‘अक्टोबर २४’ का दिन विश्व पोलियो दिवस संसारभर मनाउने गरिन्छ । यस दिन पोलियो उन्मूलनका लागि चेतना जागृत गाराउने खालका कार्यक्रमहरू सञ्चालन गर्ने गरिन्छ ।

    हाल विश्वमा पाकिस्तान, अफगानिस्तान र नाइजेरियाबाहेकका देशमा पोलियो रोग छैन । नेपालमा पनि सन् २०१० यता पोलियोका रोगी भेटिएका छैनन् । यसै दिवसको अवसर पारेर आज भैरहवामा पोलियो शान्ति र्यालीको आयोजना गरिएको छ ।

    भैरहवाको बुद्धचोकबाट सुरु भएको शान्ति र्याली, नारायणपथ, बैंकरोड, नयाँ सडक हुँदै जनकपथमा समापन भएको रोटरी क्लबका राजकुमार गुप्ताले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij