वेबटिभी खबर
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले जुम्लाको कनकासुन्दरी गाउँपालिकामा पहिरामा परेर बेपत्ता भएकाहरुको खोजी कार्य र घाइतेको उपचारमा कमी हुन नदिन स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
गृहमन्त्री खाणले प्रभावितको पुनः स्थापन कार्यमा कुनै कसर बाँकी नराख्न गृहप्रशासन र प्रजिअलाई निर्देशन दिएको उनको सचिालयले जनाएको छ ।
गृह प्रशासनमार्फत घाइतेको उद्धारका लागि सेनाको हेलिकोप्टरको व्यवस्थापन गरिए पनि खराब मौसमका कारण हेलिकोप्टर जान नसकेको जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले जानकारी दिए ।
उनले सो क्षेत्रमा अहिले पनि पानी परिरहेको बताए । प्रजिअका अनुसार जुम्लाको कनकासुन्दरी गाउँपालिका-५ मा पहिरामा पुरिएर अहिलेसम्म ७ जनाको मृत्यु भएको छ ।
अन्य दुईजना घाइते भएकामध्य एकको अवस्था गम्भीर रहेको छ । उनीहरुको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
अहिले घटनास्थलतर्फ प्रजिअसहित जिल्ला सुरक्षा मितिको टोली गइरहेको जनाइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij