Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

राउटे बस्तीमा दसैँको चटारो

राउटे बस्तीमा दसैँको चटारो

  • 395
    SHARES
  • राउटे बस्तीमा दसैँको चटारो

    काठमाडौं । दसैँको रौनकले यतिबेला सम्पूर्ण नेपालीलाई छाेएकाे छ । शहर सुनसान बन्दै गएका छन् भने गाउँ भरिभराउ हुन थालेका छन् ।

    दसैँको रौनकले राउटे बस्तीलाई पनि छाेएको छ । उनीहरू दसैँको तयारीमा जुटेका छन् । फिरन्ते जीवन बिताउँदै आएका उनीहरू जाजरकोटदेखि आएर दैलेखको भगवतीमाई-१ मनघर बायुतडा लेकमा एक महिनादेखि बस्दै आएका छन् ।

    अहिले सोही गाउँपालिकाको वडानम्बर-१ बेँसीमा पर्ने बेस्तडा बजार नजिकै जंगलमा राउटे बस्ती सरेकाे छ । लेकमा चिसो बढ्न थालेपछि बेँसी झरेको उनीहरूको भनाइ छ । महामुखिया महिनबहादुर शाहीले बस्ती सरेपछि किनमेल गर्न सजिलो भएको सुनाए ।

    उनले भने, ‘दसैँ आइसक्यो, खसीबोका र चामल किन्न सजिलो होला भनेर यहाँ सरेका हौँ । चिसो बढ्यो, दसैँ मनाएर अन्तै सर्नुपर्ला ।’ बेस्तडा जंगलमा काठ अभाव रहेकाले यहाँ धेरै समय बस्न नसकिने उनकाे भनाइ छ । फिरन्ते जीवन बिताउने यो समुदायका ४६ घरधुरीमा १४३ जना छन् ।

    बस्तीमै पुगेर राउटे समुदायलाई खसी, चामल, चिसोमा न्यानो गराउने पिफर्म वितरण गरेको भगवतीमाई गाउँपालिका अध्यक्ष गणेश थापाले बताए । उनले राउटे जहाँ बस्ती सरे पनि भत्ता दिँदै आएको गुराँस गाउँपालिकालाई असोज महिनाको भत्ता वितरण छिटो गर्न आग्रह गर्ने गरेको बताए ।

    गुराँस गाउँपालिका-८ ले परिचयपत्र दिएर नेपाली नागरिकको रूपमा सामाजिक भत्ता बस्तीमै पुगेर वितरण गर्दै आएको छ । सरकारले अतिलोपोन्मुख यस समुदायका लागि प्रतिव्यक्ति मासिक ४ हजार प्रदान गर्दै आएको छ ।

    दसैँ नजिकिँदै गर्दा चामल, खसीबोका, नुन–तेललगायत आवश्यक सरसामानको जोहो गर्न थालेका छन् । किनमेलका लागि स्थानीय बेस्तडा बजार हुँदै दैलेख सदरमुकामसम्म पुग्ने उनीहरूको योजना छ ।

    राउटे समुदायमा मुख्य मान्छेलाई महामुखिया भनिन्छ । महामुखिया  शाही छन् भने मुखिया दुई जना सूर्यनारायण र वीरबहादुर शाही छन् ।  उनीहरू महामुखियाका हातबाट चामलको सेतो टीका थाप्ने, नाचगान गर्ने, खसीबोका काट्ने गर्दछन् ।

    उनीहरू यो दसैँलाई ‘असोजे दसैँ’ भन्छन् । यसका लागि राउटेले अगाडि नै खसीबोका जम्मा गरिराख्छन् । दसैँका दिन सबैले आफ्नै छाप्रोमा बनाएको जाँड खान्छन् । दसैँको मुख्य दिनमा बिहानको खानपिन गरेर दिउँसो राउटेले आफ्नो परम्परागत लुगा लगाएर नाचगान गर्छन् ।

    मुजा परेको सेतो जामा, शिरमा सेतो पगरी, खुट्टामा फलामको कल्लीजस्तो बज्ने गहना लगाएर मादल बजाई लहरै घुमी नाच्छन् । देवी-देवताको पूजा गर्ने, चाडपर्व मनाउनेलगायतका हिन्दू संंस्कारप्रति राउटे पनि विश्वास गर्छन् ।

    यद्यपी उनीहरूको मृत्यु संस्कार भने फरक शैलीको छ । आफ्ना सदस्यको मृत्युमा जलाएर अन्त्येष्टि, काजकिरिया, जुठो बार्ने गर्दैनन् । जहाँ मर्यो त्यही गाडेर बस्ती सर्छन् । कर्णाली प्रदेशको दैलेख, सुर्खेत, सल्यान र जाजरकोटको आसपासका क्षेत्रमा यो समुदायले बसोबास गर्दै आएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij