वेबटिभी खबर
काठमाडौं । लामो समय विदेश बसेर कोरोना महामारीको समयमा घर फर्किएका बाग्लुङको बरेङ गाउँपालिका-१ धुल्लुबास्कोटका कुमार रानाले अहिले आफ्नै गाउँमा व्यवसाय गर्दै छन् ।
महामारीको समयमा रोजगारी गुमाएर घर फर्किएकालाई गाउँपालिकाले साथ दिएपछि रानाले गाउँमै व्यवसायी बन्ने अवसर पाएका थिए । कोरोना महामारीको समयमा वैदेशिक रोजगारी गुमाएकाहरूका लागि गाउँपालिकाले अटो रिक्सामा अनुदान दिएपछि रानाको व्यवसायी बन्ने बाटो खुलेको हो ।
रोजगारी गुमाएर घर फर्किएकाले यसअघि उनीसँग अटो रिक्सा खरिदका लागि पैसा थिएन । गाउँपालिकाभित्रै सञ्चालन गर्ने गरि गाउँपालिकाले दुई जना युवालाई ७५ प्रतिशत अनुदानमा अटोरिक्सा उपलब्ध गराएको छ ।
चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममा नै महारीमा रोजगारी गुमाएकालाई अटो रिक्सा अनुदान दिने कार्यक्रम गाउँपालिकाले ल्याएको थियो । शुक्रबार एक कार्यक्रममा धुल्लुबास्कोटका कुमार र होमबहादुर रानालाई अनुदानको रिक्सा उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए ।
गाउँपालिकाले अनुदानमा उपलब्ध गराएका अटो रिक्सा गाउँपालिकाभित्रका मुख्य बजार र बस्तीमा सञ्चालन हुने छन् । अध्यक्ष शर्माले भने, ‘युवालाई स्वरोजगार बनाउने र ग्रामीण बस्तीमा सहज यातायात सेवा पुर्याउने दुवै योजना हो । हामीले सबै नागरिकको हित हुने क्षेत्रमा नै लगानी गरेका छौँ ।’
पर्याप्त सवारीसाधनको अभावमा बरेङ गाउँपालिकाका गाउँमा छोटो दुरीको यात्रामा सर्वसाधारणले सवारी साधन नपाउने समस्या थियो । भाडादरसमेत गाउँपालिकाले तोकेर अटो रिक्सा सञ्चालनमा ल्याएपछि सबै सर्वसाधारणलाई आवतजावतमा सहज हुने शर्माले बताए ।
अनुदानमा अटो रिक्सा वितरणका लागि गाउँपालिकाले सार्वजनिक सूचना गरेको थियो ।
वडा कार्यालयको सिफारिस, वैदेशिक रोजगारमा बिताएको समय, कोभिड-१९ का कारण प्रभावित भई उपचार गरेको चिकित्सकको कागज, १८ देखि ४० वर्षभित्रको उमेर समूह, अशक्त भई अन्य पेसा व्यवसाय गर्न नसकेकोलगायतका मापदण्डका आधारमा उनीहरूलाई अनुदान उपलब्ध गराएको शर्माले बताए ।
गाउँपालिकाले निर्धारण गरेको रूटमा अटो सञ्चालन हुने छन् । खरिदमा मात्रै अनुदान दिइएकाले गाउँपालिकासँग भएको सम्झौताका आधारमा अटो रिक्सा सञ्चालन, मर्मत संहार र इन्धनको प्रबन्ध अटो रिक्सा सञ्चालक आफैँले गर्नेछन् ।
५ लाख ८९ हजार ९०० पर्ने अटो रिक्साका लागि व्यवसायीले एक लाख ४७ हजार चार सय ७५ र बाँकी रकम गाउँपालिकाले भुक्तानी गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij