Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

संरक्षण अभावका कारण पुरिँदै कालरुवा ताल

संरक्षण अभावका कारण पुरिँदै कालरुवा ताल

  • 255
    SHARES
  • संरक्षण अभावका कारण पुरिँदै कालरुवा ताल

    डोटी । संरक्षणको अभावमा डाटी बडीकेदार गाउँपालिका-४ मान्नकापडीमा रहेको कालारुवा ताल पुरिँदै जान थालेको छ ।

    परापूर्वकालमा कुन्तामाता भगवतीको बासस्थानका रूपमा रहेको कालारुवा ताल उच्च लेकाली भेगमा भएकाले संरक्षणका लागि अहिलेसम्म कसैको ध्यान नगएको र गाउँपालिकाले पनि संरक्षणका लागि कुनै योजना नबनाउँदा अहिले पुरिँदै जान थालेको हो ।

    पहिले ताल जति सुन्दर देखिन्थ्यो तर अहिले विस्तारै संरक्षणको अभावमा संकटमा पर्दै गएको स्थानीयवासीको भनाइ छ । उच्च लेकाली भेगमा रहेको यो तालमा कसैले महत्व नदिएका कारण ओझेलमा परेको कालारुवा सामुदायिक वनका अध्यक्ष उज्वल धामीले बताए ।

    उचित संरक्षण नहुँदा वरपरको माटो-ढुंगा खस्न थालेपछि तालको क्षेत्रफल खुम्चिँदै गएको उनको भनाइ छ । दुई सय वर्षअघिदेखिको यो ताल बाह्रै महिना कालो रङको देखिने अध्यक्ष धामीले जानकारी दिए ।

    पर्यटकको सम्भावना रहेको यो कालारुवा तालको कसैले पनि संरक्षण तथा प्रवर्द्धनका लागि पहल नगरेका कारण ओझेलमा परेको मान्नकापडीका टेकेन्द्र धामीले बताए ।

    उनले भने, ‘पहिले ताल ठूलो थियो, पानी जमेको हेर्दा राम्रो लाग्थ्यो, अहिले विस्तारै पुरिँदैछ र तालको आकार पनि घट्दै जान थाल्दा पनि संरक्षण र व्यवस्थित गर्न स्थानीय सरकारको ध्यान गएको छैन ।’

    कालारुवा ताल संरक्षणका लागि बडीकेदार गाउँपालिका-४ को वडा कार्यालयले सडकसँगै व्यवस्थापन कार्य अगाडि बढाउने तयारी गरेको छ । प्राकृतिक ताललाई पुरानै अवस्थामा फर्काउनका लागि सबै निकायसँग समन्वय गरी योजना बनाउन लागिएको वडाध्यक्ष कर्णबहादुर जेठाराले बताए ।

    ‘ताल संरक्षण गरी पर्यटकीय क्षेत्रकारूपमा विकास गर्नका लागि आवश्यक बजेट विनियोजन गरेका छौं’, उनले भने, ‘पहिलो प्राथमिकता ताल संरक्षण गर्ने र दोस्रो प्राथमिकतामा ताल क्षेत्रसम्म पुग्ने सडक सञ्जाल जोडिने छ ।’

    ताललाई पुरानै अवस्थामा ल्याइएपछि ताल वरिपरि पर्यटकलाई हिँड्नका लागि बाटो निर्माण, विभिन्न देवताका मूर्ति निर्माणसँगै कुन्तामाता भगवतीको मन्दिर बनाउने योजना रहेको र सोहीअनुसार कार्य अगाडि बढाइने उनको भनाइ छ ।

    उक्त गाउँपालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीयस्थलको अध्ययनसँगै पालिकाकाबाट बजेट विनोयोजित गरी संरक्षण तथा प्रवर्द्धन गरिने गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउदले जानकारी दिए ।

    पहिलो प्राथमिकता यस क्षेत्रमा भएका सबै धार्मिक तथा पर्यटकीयस्थलको अध्ययन गर्ने त्यसपछि प्रचारप्रसार गरी समृद्ध बडीकेदार बनाउने योजना रहेको उनको भनाइ छ ।

    यस क्षेत्रका कालारुवा ताल मेलघटी देऊ, मोहन्याल मन्दिर, चोड्याल मन्दिरलगायत विभिन्न धार्मिक तथा पर्यटकीयस्थल तथा तालहरु संरक्षणको अभावमा ओझेल पर्दै आएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij