वेबटिभी खबर
काठमाडौं । कांग्रेस नेता प्रकाशमान सिंहले नेपालका शैक्षिक संस्थाहरू बेरोजगार उत्पादन गर्ने कारखाना भएको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिंहले शिक्षालाई वर्तमान अवस्थामा आवश्यक प्रविधिसँग जोडेर अघि बढाउन जरूरी रहेको बताएका हुन् ।
उनले भने,‘नेपालका शैक्षिक संस्थाहरू बेरोजगार उत्पादन गर्ने कारखाना बनेका छन् । त्यसैले अहिले शिक्षालाई हामीले वर्तमान अवस्थामा आवश्यक प्रविधिसँग जोडेर शिक्षलाई अघि बढाउनु पर्छ । १२ कक्षा पास भइसक्दा आफ्नो खुट्टामा नै उभिन सक्षम, आर्थिक रूपमा सबल हुनसक्ने, सीप बोकेको विद्यार्थी उत्पादन गर्नुपर्छ । नेपालको शिक्षाको गुणस्तरमा सुधार गर्नुपर्छ, बेरोजगारको समस्यालाई समाधान गरी विद्यार्थीहरूलाई विद्यालयबाट बाहिर निस्किँदा क्षमतावान बनाउनुपर्छ भन्ने नीति आउने नीतिमा जोड दिनेछौँ ।’
त्यस्तै नेता सिंहले आगामी निर्वाचनमा कांग्रेसलाई देशको नेतृत्व गर्ने जिम्मेवारी दिए संघीयतालाई कार्यान्वयन गरेर देखाउने दाबीसमेत गरे ।
उनले भने, ‘संविधान जारीपछिको दोस्रो आम निर्वाचन भनेको संघीयतालाई कार्यान्वयन गर्ने हो, कांग्रेसले मौका पायो भने संघीयतालाई कार्यान्वयन गरेर देखाउँछौँ । केन्द्रिकृत एकात्मक व्यवस्था र संघीयतामा के फरक छ भन्नेकुरा जनताले महसुस हुनेगरी काम गर्छौं । सुशासनको समस्यालाई हल गर्नेछौँ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij