Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

चाडपर्व नजिकिएसँगै भन्सार नाकामा घर फर्किनेको संख्या बढ्दै 

चाडपर्व नजिकिएसँगै भन्सार नाकामा घर फर्किनेको संख्या बढ्दै 

  • 327
    SHARES
  • चाडपर्व नजिकिएसँगै भन्सार नाकामा घर फर्किनेको संख्या बढ्दै 

    कैलाली । दसैँ र तिहार नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारत गएका नेपाली स्वदेश फर्कने क्रम बढ्दो छ ।

    कैलालीको त्रिनगर भन्सार नाकाबाट दिनहुँ रोजगारिका लागि भारतका विभिन्न शहरबाट घर फर्किने क्रम बढेको सिमास्थित सशस्त्र प्रहरी पोष्ट भन्सारले जनाएको छ ।

    सशस्त्र प्रहरी पोष्टका अनुसार भारतको मथुरा, पुना, गुजरात, सुरत, मुम्बई, गोवा, दिल्ली लगायतका विभिन्न शहरबाट शनिबार चार सय दुई, आइतबार तीन सय ५३, सोमबार पाँच सय ४८, मंगलबार तीन सय ३८ र बुधबार आठ सय जना नेपाली नेपाल भित्रिएका छन् ।

    चाडपर्व नजिएकोले भारत जाने भन्दा पनि स्वदेश फर्किनेको संख्या बढ्न थालेको हो । लामो समयदेखि भारतको मुम्बईमा रोजगार गर्दै आएका डोटीको आदर्श गाउँपालिकाका रमेश खड्काले चाडपर्व मनाउँनकै लागि घर फर्केको बताए ।

    ‘दसैँमा परिवारका सदस्यबीच सबै जना एकसाथ भेटघाट हुने र मिठामिठा स्थानीय खानाका परिकार पकाइ खाइ रमाइलो गरी मनाउने गरिन्छ’, उनले भने, ‘यसले घर बाहिर लामो समयसम्म एक्लो भएर बस्नु परेको आभाश रमाइलोमै वित्छ ।’

    सोही गाउँपालिकाका नरिबहादुर साउदले घरपरिवारसँग लामो समयसम्म भेटघाट पनि नभएकोले दसैँमा टीका थाप्नुका साथै पारिवारिक भेटघाट तथा खेतीपाती भित्र्याउन आफू भारतको पञ्चाबबाट आएको बताए ।

    यसरी छिमेकी मूलुक भारत जाने सर्वसाधारण नेपाली कोही छोटो समयका लागि त कोही लामो समयका लागि रोजगारी गर्न भारत जाने गर्दछन् ।

    खेतीपाती भएका आफ्नो काम सम्पन्न गरी अन्नबाली नभित्रिञ्जेल भारतमा काम गर्न जाने र फुर्सद प्राप्त हुने समयमा घर आउने गरिएको पाइन्छ, भने खेतीपाती नहुने लामो समयको अन्तरालपछि चाडवाड मनाउन घर आउने गरेको पाइन्छ ।

    सूदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका अधिकांश मानिस रोजगारका लागि भारतका मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाब, अहमदाबाद लगायतका शहरहरूमा जाने गर्दछन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij