वेबटिभी खबर
काठमाडौं । साउदी अरेबियामा विभिन्न कारण अवैधरूपमा रहेका ५८ जना नेपालीलाई स्थानिय प्रशासनले स्वदेश फर्किनको लागि वहिर्गमन (एक्जिट भिसा) प्रदान गरेको छ ।
सेप्टेम्बर १५ सम्ममा ती भिसा प्राप्त भएको साउदी अरबस्थित नेपाली दूतावासले जनाएको छ ।
साउदीका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (इकामा) नबनाईएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरूलाई स्वदेश फर्काउन आवश्यक वहिर्गमन भिसाका लागि दूतावासले अनुरोध गरेको थियो ।
दूतावासको अनुरोध गरेकामध्ये ५८ जनालाई एक्जिट भिसा दिइएको हो । एक्जिट भिसा आएकाहरूले दूतावासमा आएर आफ्नो एक्जिट भिसा लिएर जान दूतावासले अनुरोध गरेको छ ।
स्थानीय कानुनअनुसार एक्जिट भिसा लागेको ६० दिनभित्र अनिवार्य रूपमा साउदी अरब छोड्नु पर्ने हुन्छ । एक्जिट भिसा प्रोसेसिङ् निःशुल्क हुने भए पनि एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने दूतावासले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij