वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदहरुबीच पदबाट राजीनामा दिने वा प्रतिनिधिसभाको बैठकमा उपस्थित हुनेबारे मतभिन्नता देखिएको छ ।
साेमबार सिंहदरबारमा बसेको नेपालपक्षीय स्थायी समिति सदस्यको बैठकले आफू पक्षका सांसदले राजीनामा नदिने तर प्रतिनिधिसभाको अधिवेशनमा अनुपस्थित हुने निर्णय गरेको थियो ।
यसलगत्तै नेपाल पक्षकै घनश्याम भुसाल, योगेश भट्टराईलगायतका नेताहरु अलगै बैठकमा छन् । विश्वासको मत लिने बैठकमा पार्टीको ह्वीप उल्लंघन गरेर अनुपस्थित हुनु कानुनी कारबाहीको विषय भएकाले बैठकमा गएर प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने यी नेताको भनाइ छ ।
भुसाल र भट्टराईपक्षका तल्लो कमिटिका नेताहरुले उनीहरुलाई सांसद पदबाट राजीनामा नदिन आग्रह गर्दै आएका छन् ।
आइतबार एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले पार्टीका सबै सांसदलाई प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्विप जारी गरेपछि नेपाल पक्षका सांसदहरु प्रतिनिधिसभाको सोमबारको अधिवेशनमा उपस्थित हुनैपर्ने दवाबमा छन् । तर नेता नेपालले आफूपक्षीय सांसदलाई सोमबारको प्रतिनिधिसभाको बैठकमा अनुपस्थित हुन निर्देशन दिएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij