वेबटिभी खबर
काठमाडौं । प्रधानमन्त्रीले विश्वासको मत माग्ने मिति नजिकिँदै गर्दा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्रीलाई विश्वासको मत दिनेमा आफूहरु तटस्थ रहने बताएका छन् ।
आइतबार बिहान प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उनकै निवास बुढानिलकण्ठ पुगेर अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारे देउवासँग डेढघण्टा छलफल गरेका थिए ।
भेटमा देउवाले उनीहरुसँग आफूलाई सहयोग गर्न नभए तटस्थ रहन आग्रह गरेको देउवानिकट एक नेताले बताए । देउवासँगको भेटवार्तापछि ठाकुर र महतो सिधै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।
प्रधानमन्त्री ओलीलाई भेटेर उनीहरुले विश्वासको मत दिन नसक्ने बताएका छन् । वरिष्ठ नेता महतोसहित बालुवाटार पुगेका ठाकुरले जसपाका मागहरू पूरा भइनसकेकोले विश्वासको मत दिन नसक्ने बताएका हुन् । ‘हाम्रा मागहरू अझै पूरा भएका छैनन् । यही अवस्थामा हामीले तपाईंलाई विश्वासको मत दिन सक्दैनौं’, ठाकुरलाई उद्धृत गर्दै जसपा कार्यकारणी समितिका एक सदस्यले भने ।
भेटमा प्रधानमन्त्री ओलीले जसपाको माग पूरा गर्न सरकार सकारात्मक रहेको भन्दै उनीहरुलाई विश्वस्त बनाएका छन् ।
प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत नदिए पनि विपक्षी गठबन्धनमा सहभागी नहुन ठाकुरलाई आग्रह गरेका छन् । प्रधानमन्त्रीको यस्तो आग्रहबीच ठाकुर तटस्थ रहने वा कांग्रेसकै बाटोमा लागेर प्रधानमन्त्रीलाई अविश्वासको मत हाल्नेछन् यसबारे टुंगो लागिसकेको छैन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij