Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

अलैँचीको घरेलु खपत र प्रवर्द्धन नहुँदा चिन्ता

अलैँचीको घरेलु खपत र प्रवर्द्धन नहुँदा चिन्ता

  • 336
    SHARES
  • अलैँचीको घरेलु खपत र प्रवर्द्धन नहुँदा चिन्ता

    झापा । ‘वाह अलैँची’ अभियानका ‘ब्रान्ड एम्बेसडर’ मास्टर सेफ सन्तोष साहले स्वदेशमै उत्पादित बहुउपयोगी अलैँचीको घरेलु उपभोग र बजार प्रवर्द्धन हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् ।

    पूर्वी नेपालको पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङलगायत दर्जनौँ जिल्लामा अलैँचीको उत्पादन हुँदै आएको छ । खानेकुरालाई स्वस्थ र स्वादिलो बनाउन अलैँचीको विश्वभर व्यापक प्रयोग भइरहेपनि उद्गमथलो नेपालमै यसको उपभोग न्यून भएको उनले बताए ।

    विश्वचर्चित ‘बिबिसी मास्टर सेफ प्रतियोगिता’का विजेता साह अलैँचीको घरेलु खपत बढाउने अभियानका क्रममा झापा र इलामका अलैँची कृषक, व्यवसायी र होटलका कुकहरूसँग भेटघाट र अलैँचीखेती अवलोकनका लागि झापा पुगेका छन् ।

    नेपाल अलैँची व्यवसायी महासंघले होटल एसोसिएसन अफ नेपाल, कृषि मन्त्रालय र स्वीस विकास सहयोग (एसडिसी) सँगको सहकार्यमा गत साउनदेखि ‘वाह अलैँची’ अभियान सुरु गरेको छ । मास्टर सेफ साह यो अभियानको ब्रान्ड एम्बेसडर हुन् ।

    ‘विदेशमा रहँदा अलैँचीको खुबै प्रयोग हुन्थ्यो, तर मलाई ती अलैँची आफ्नै देशको उत्पादन हो भनेर थाहा थिएन’, जिल्लाका धुलाबारीमा व्यवसायीसँगको भेटघाटमा उनले भने, ‘जब मैले बिबिसी मास्टर सेफमा भाग लिए । त्यहाँ अलैँचीको नाम आयो । अनि मात्र थाहा पाएँ कि अलैँची त हाम्रै देशको उत्पादन पो रहेछ ।’

    विदेशबाट आयातित वस्तुको उपभोगमा न्यूनीकरण गरेर स्वदेशी अलैँचीको उपभोगका लागि जनचेतना बढाउन आवश्यक रहेको र आफू त्यसैमा लागिरहेको उनले बताए । नेपालमा विदेशबाट आयातित सुकुमेल हरेक खानेकुरामा प्रयोग हुने गरेको र अलैँची उपेक्षामा परेको उनको भनाइ छ ।

    चिया, खाना, तरकारी, मासु, माछालगायत भान्साका हरेक वस्तुमा अलैँचीको प्रयोग गर्न सकिने हुँदा घरेलु बजार प्रवर्द्धनका लागि वाह अलैँची नामक किताब प्रकाशन गर्ने, अलैँची प्रयोग गरिएको खानेकुरा प्रदर्शनी गर्ने र होटलका कुकसँग अन्तरक्रिया गर्ने कार्यक्रम अघि बढाएको उनले जानकारी दिए ।

    नेपालमा उत्पादित अलैँचीको पाँच प्रतिशत मात्र घरेलु बजारमा खपत हुने गरेको र बाँकी सामान भारत निकासी हुँदै आएको नेपाल अलैँची व्यवसायी महासंघका कार्यकारी अधिकृत अनिल ढुंगानाले बताए ।

    सिधै तेस्रो मुलुकमा निकासीका लागि सकस हुँदा नेपाली व्यवसायीले भारतीय बजारमा अलैँची बेच्न बाध्य भइरहेको जनाउँदै उनले घरेलु बजारको आयतन बढाउन सक्दा कृषक र व्यवसायी दुवै पक्षलाई फाइदा पुग्ने जानकारी दिए ।

    महासंघको तथ्यांकअनुसार नेपालमा १८ हजार हेक्टरमा अलैँचीखेती हुने गरेको छ । जसअनुसार वार्षिक १३ हजार ४४ मेट्रिकटन उत्पादन हुन्छ । नेपालबाट वार्षिक ७ अर्ब बराबरको अलैँची निर्यात हुँदै आएको छ ।

    अरबी मुलुकमा मासु माछामा मसलाकारूपमा अलैंचीको उपभोग हुने गरेपनि नेपालमा सिलौटामा पिसेर चिया मसलाका रुपमा न्यून प्रयोग हुने गरेको छ । अलैँचीलाई औषधिय गुण भएको मसला मानिन्छ ।

    घरेलु उपभोग र बजार प्रवर्द्धनका लागि मास्टर सेफ सन्तोष साहलाई ‘वाह अलैँची’ अभियानका ‘ब्रान्ड एम्बेसडर’ घोषणा गरिएपछि स्वदेशी खपत बढ्ने महासंघको अपेक्षा रहेको कार्यकारी अधिकृत ढुंगानाले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij