वेबटिभी खबर
फाइल तस्बिर
काठमाडौं । हिन्दुहरूको चाड जनैपूर्णिमा पर्वका अवसरमा स्नान तथा पूजाका लागि वर्षेनी हजारौँ भक्तजन गोसाइँकुण्ड आइपुग्ने गर्दछन् ।
यस वर्ष पनि देशभरीबाट जनैपुर्णिमा मनाउनका लागि १० हजारबढी भक्तजन बिहिबार साँझसम्म गोसाईकुण्ड आइपुगेका छन् ।
कोरोना महामारी न्यूनीकरण भएपछि पहिलो पटक यति ठुलो संख्यामा भक्तजन गोसाईकुण्ड आईपुगेको स्थानीयको भनाइ छ ।
भक्तजनको स्वास्थ्य कुनै समस्या देखियो वा लेक लागेका बिरामीलाई उपचार गर्नको लागि रसुवा जिल्ला अस्पताल, चौलाङपार्टीमा नेपाली सेना र गोसाईकुण्डमा हिमालय उद्धार संघबाट खटिएका चिकित्सक समूहले उपचार सेवा गरिरहेका छन् ।
गोसाईकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार कुण्ड गहिरो भएका कारण भक्तजनले स्नान गर्ने क्रममा हुन सक्ने जोखिम न्यूनीकरणका लागि र भक्तजनलाई लेक लाग्न सक्ने भएकाले चिकित्सक तथा उद्धार टोली तयारी अवस्थामा राखिएको छ ।
समुन्द्र सतहदेखि ४ हजार ३ ८० मिटरको उचाइमा रहेको कुण्डमा आउने तिर्थालुको हेरचाहका लागि नेपाल प्रहरी, सशष्त्र प्रहरी र नेपाली सेना पनि खटिएका छन् ।
समुन्द्र मन्थनको क्रममा बिष पिएका महादेव शिवले यही स्थानमा आएर त्रिशुल गाडेपछि गोसाईकुण्ड उत्पति भएको भन्ने धार्मिक विश्वास रहदैँ आएको छ ।
समुन्द्र मन्थको क्रममा उत्पत्ति भएको विषको व्यवस्थापन गरि दिनुपर्यो भनी भगवान शिव समक्ष पुगेपछि शिवले त्यो विष आफूले पिएका थिए तर त्यो विष घाँटीमा अड्किएपछि, आफ्नो छटपटीलाई शान्त पार्न भौतारिदा शिव निलाद्री पर्वतमा आई त्रिशुल भित्तामा प्रहार गरेपछि त्यहाँ धारा बनेको र त्यसै धाराबाट बगेर आएको पानीले कुण्ड बनेको भन्ने धार्मिक मान्यता रहदैँ आएको छ ।
सोही कुण्डमा भगवान शिवले विषको डाह शान्त पारेकाले गोसाइकुण्डमा स्नान, दान र तर्पण गर्नाले पितृहरू स्वर्ग जाने, जीवनभर गरेको पापबाट मुक्ति पाइने र आफ्नो मनोकाक्षा पूरा हुने धार्मिक मान्यता रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij