वेबटिभी खबर
काठमाडौं । राष्ट्रियसभामा रिक्त रहेको बागमती र लुम्बिनी प्रदेशका दुई सिटका लागि हुने उपनिर्वाचनमा नेकपा एमालेविरुद्ध एमालेकै माधव नेपाल पक्षसहित चारपक्षीय गठबन्धन बन्ने भएको छ ।
माओवादीका रामबहादुर थापा (बादल) र चन्द्रवहादुर खड्का एमाले प्रवेश गरेपछि ती दुई ठाउँ रिक्त भएका थिए ।
मंगलबार र बुधबार कांग्रेस, माओवादी, जसपाको उपेन्द्र यादव पक्ष र एमालेको माधव नेपालपक्षबीच भएको छलफलपछि लुम्बिनीमा कांग्रेसलाई र बागमतीमा प्रचण्ड–माधवपक्षलाई सघाउने सहमति बनेको हो ।
बादल कारबाहीमा परेपछि रिक्त भएको एक सिटमा जेठ ६ गते उपनिर्वाचन हुँदैछ । एमालेले सो सिटका लागि बादललाई नै उठाउने भएको छ भने कांग्रेस, माओवादी केन्द्र, एमालेको नेपालपक्ष र जसपाको उपेन्द्र यादवपक्षले बनाएको संयुक्त गठबन्धनमा साझा उम्मेदवारका रुपमा डा. खिमलाल देवकोटालाई उठाउने भएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार एमाले नेता नेपाल र जसपा अध्यक्ष यादवसँग हात्तीवनमा छुट्टाछुट्टै वार्ता गरेका थिए । उनले राष्ट्रियसभा निर्वाचनमा सहकार्यका लागि कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि वार्ता गरेका छन् ।
लुम्बिनी प्रदेशमा नेकपा एमाले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका दृगनारायण पाण्डेलाई अघि सारिएको छ । साझा उम्मेदवार बनाएलगत्तै उनी नेपाली कांग्रेस प्रवेश गरेका छन् । यद्यपि त्यहाँको निर्वाचन मिति तोकिएको छैन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij