Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

च्याङ्ग्रे पोखरी संरक्षण गरिँदै

च्याङ्ग्रे पोखरी संरक्षण गरिँदै

  • 444
    SHARES
  • च्याङ्ग्रे पोखरी संरक्षण गरिँदै

    भोजपुर । पौवादुङमा गाउँपालिकाको प्रमुख सौन्दर्यको रूपमा रहेको च्याङ्ग्रे पोखरी संरक्षण गर्न थालिएको छ ।

    गाउँपालिकाले पर्यटकीय गन्तव्यकारूपमा विकास गरेर आर्थिक स्रोतकारूपमा जोड्न २ करोडभन्दा बढी लागतमा संरक्षण गर्न लागिएको हो । सिंगो गाउँपालिकाको आकर्षण केन्द्रकोरूपमा रहेको यो पोखरीलाई जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य मान्न सकिन्छ।

    पोखरीको बृहत्तर विकासका लागि गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेर थप विकास गरिरहेको छ । पोखरीको मौलिकतालाई यथावत राख्दै आधुनिक प्राविधि प्रयोग गरेर विकासको काम गरिरहेको गाउँपालिकाले जनाएको छ ।

    क्रमागत योनजाअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागत साझेदारीमा पोखरी थप विस्तार तथा संरक्षणको काम गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए ।

    सम्झौताअनुसार २०८० सालको चैत महिनासम्म सम्पन्न गर्ने गरी २ करोड १९ लाख ९९ हजार २ सय २४ मा काम भइरहेको उनको भनाइ छ । यो काम थालनी भएको दोस्रो वर्ष हो । हालसम्म ४० प्रतिशत काम सकिएको छ ।

    प्रमुख प्रशासकीय अधिकृत भट्टराईले भने, ‘मन्त्रालयसँगको लागत साझेदारीमा पोखरी संरक्षणको काम भइरहेको छ । हालसम्म ४० प्रतिशत काम सकिएको छ । पोखरी संरक्षणको काम तीव्र गतिमा गरिरहेका छौं । विसं २०८० सम्ममा सक्ने सम्झौता छ ।’

    धेरै मिहेनतपछि केन्द्रीय सरकारबाट बजेट विनियोजन भएपछि काम गर्न सफल भइएको गाउँपालिकाका अध्यक्ष किरण राईले जानकारी दिए ।

    अहिले पोखरीलाई पर्खालले घेर्ने, वरिपरि पाँच मिटरको बगैंचा निर्माण गर्ने, बालबालिकाका लागि पार्क बनाउने, बीचमा पानीको फोहोरा (माउटेण्ड फल्स) राख्ने र बोटिङ गर्न सक्ने गरी संरचना बनाइने उनले बताए ।

    ‘गाउँपालिकाको पर्यटकीय क्षेत्रको विकासमा योजनाबद्धरूपमा लागेका छौं’, अध्यक्ष राईले भने, ‘यहाँका सम्पूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रको डीपीआर बनाइसकेका छौं तर स्थानीय सरकारलाई आएको बजेटबाट काम गर्न निकै समस्या छ । त्यसैले प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेर काम गरिरहेका छौं । यस्ता क्षेत्रको विकासले गाउँपालिकाको आर्थिक विकासमा टेवा पुग्ने हामीले आशा लिएका छौं ।’

    गाउँपालिकाको अर्को पर्यटकीय स्थल अरुणडाँडाको विकासका लागि पनि काम भइरहेको गाउँपालिकाले जनाएको छ । यस्ता क्षेत्रको विकास तथा प्रचार-प्रसार गरेर आन्तरिक तथा बाह्य पर्यटकको आवागमनलाई बढाउने लक्ष्य लिइएको छ ।

    यो पोखरी पर्यटकीय सम्भावना बोकेको गन्तव्य भए पनि ओझेलमा परेको छ । पोखरीको प्राकृतिक सुन्दरता अवलोकन गर्न आन्तरिक पर्यटकहरू पुग्न गरे पनि बाह्य पर्यटक भने कमै मात्र आउने गरेका छन् ।

    परापूर्वकालमा यहाँ च्याङ्ग्रा आएर पोखरीको पानी खाने, दिनभर त्यतै आराम गर्ने भएकाले ‘च्याङ्ग्रे पोखरी’ नामाकरण गरिएको स्थानीयवासीको कथन छ । पोखरी बनेदेखि नै पानी जुनसुकै खडेरीमा पनि सुकेको छैन ।

    स्थानीय चन्द्रबहादुर खत्रीले भने, ‘एउटा धार्मिक महत्वको प्रसिद्ध पोखरी हो तर प्रचार नहुँदा छायाँमा परेको छ । गाउँपालिकाले यसको विकासका लागि काम थालनी गरेकामा हामी खुसी छौं ।’

    यही पोखरीको नामबाट यहाँ च्याङ्ग्रेबजारसमेत लाग्ने गरेको छ । अहिले यो बजार पौवादुङमा गाउँपालिकाको मुख्य बजारकारूपमा विस्तार भएको छ । च्याङ्ग्रे घुम्न आउने जोकोहीको गन्तव्य नै यो पोखरी हो ।

    विश्राम गर्ने, घुम्ने, डुल्ने, तस्वीर लिने, दृश्यावलोकनको भरपुर आनन्द उठाउन आन्तरिक पर्यटक त्यहाँ पुग्छन् । विभिन्न पूजाआजामा पोखरीकै छेउको पञ्चकन्या मन्दिरमा भक्तालुको ठूलो जमघट हुन्छ ।

    ऐतिहासिक र धार्मिक महत्वको पोखरीमा पर्यटन प्रवर्द्धन गर्नसके पर्यटन व्यवसायबाटै आर्थिक टेवा पुग्ने स्थानीयवासीको भनाइ थियो । स्थानीय लीला सुनारले भने, ‘यो महत्वपूर्ण धार्मिक एवम् पर्यटकीय क्षेत्र हो । यहाँ विभिन्न समयमा मेला लाग्छ । मानिसहरूको आवतजावत वृद्धि हुँदा व्यापार व्यवसायमासमेत टेवा पुग्छ ।’

    पोखरीमा बिहान, दिउँसो र साँझ फरक-फरक रङ देख्न सकिने स्थानीयवासीले बताए । पोखरीलाई विशेष आकर्षण दिएर पर्यटकको आवागमन बढाउनका लागि संरक्षणको काम थालिएको उपाध्यक्ष ज्योत्सना राईले जानकारी दिइन् ।

    ‘यसको विकास तथा प्रचारमा गाउँपालिका लागिपरेको छ । उनले भनिन्, ‘बृहत्तर विकासका लागि डिपिआरअनुसारको काम गर्छौ । यसलाई जिल्लाको एक आर्कषण केन्द्रकारूपमा स्थापित गर्ने लक्ष्य छ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij