वेबटिभी खबर
काठमाडौं । हिमाली जिल्ला मुगुमा ठेकेदारले समयमै ढुवानी नगर्दा चामल अभाव भएको छ ।
आर्थिक वर्ष २०७८/०८९मा खाद्यान्न ढुवानीको जिम्मा पाएको कम्पनीले ११ हजार क्विन्टल खाद्यान्न ढुवानीको गर्नुपर्नेमा ८ हजार १ सय क्विन्टल मात्र ल्याएकाे र बाँकी २ हजार ९ सय क्विन्टल खाद्यान्न ढुवानी नगर्दा मुगुमा चामलको अभाव हुने संकेत देखिएको हो ।
खाद्यान्न अभाव देखिन थालेपछि सातामा एक दिन मात्र खाद्यान्न खुला हुँदा यहाँका नागरिकलाई सास्ती भएको छ ।
जिल्ला सदरमुकाम गमगढी बजारमा चामल मौज्दात भए पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा बजारको भन्दा प्रतिबाेरा ४ सय रूपौयाँ सस्तो हुने भएकाले चामल लिनेको निकै भीड हुने गरेको छ ।
उता संस्थानमा खाद्यान्न मौज्दात नहुँदा सास्ती भएको छायानाथ रारा नगरपालिका वडानम्बर ५ की स्थानीय मायादेवी सुनारले बताइन् ।
उनी मात्र नभएर मुगुका नागरिक बजारको महँगो चामल किनेर खान बाध्य भएका छन् । बजारमा आएको २५ केजी चामलकाे प्रतिबाेरा २ हजार १ सयदेखि २ हजार २ सयसम्म मूल्य हालेर खान बाध्य छन् ।
आइतबार मात्र खाद्यान्न खुला हुँदा घण्टौ लाइनमा बस्नुपर्ने बाध्यता रहेकाे छ । आर्थिक वर्ष २०७८/०८९मा स्वीकृत अनुसारको खाद्यान्न ठेक्कादारले सबै खाद्यान्न ढुवानी नगर्दा अहिले गोदाममा ७ सय ५० क्विन्टल चामल मौज्दात रहेको छ ।
हरेक दिन खाद्यान्न वितरण गर्दा सबै एकै दिन सकिने भएको हुँदा केही समयदेखि आइतबार मात्र खाद्यान्न खुला गरि वितरण गर्ने गरिएकाे हाे । गएको आइतबार मात्र एकै दिन ३६९ जनालाई चामल वितरण गर्दा १०६ क्विन्टल ८० केजी चामल विक्री भएको खाद्य लिमिटेडले जनाएकाे छ ।
खाद्यान्न ढुवानीको जिम्मा पाएको खड्का निर्माण सेवाका सञ्चालक चन्दननाथ नगरपालिकाका उपमेयर रामदेवी खड्काले २ हजार ९ सय क्विन्टल खाद्यान्न समयमै ढुवानी नगर्दा समस्या भएको हो ।
गाडीको तेलको मूल्य वृद्धिले ठेकेदारले पनि चामल ढुवानी नगरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगुका कार्यालय प्रमुख पुष्कर भामले बताए । मुगु जिल्लाको खत्याड, मुगमकामारो गाँउपालिकाको पुलु ,सोरूको सोरू डिपो, कालैको कालै बिक्री केन्द्र रातापानी बिक्री केन्द्रमा खाद्यान्न नहुँदा डिपो र बिक्री केन्द्र खाली छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij