वेबटिभी खबर
हेटौंडा । बाग्मती प्रदेशअन्तर्गत रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधिको अभाव भएको छ । मकवानपुरको हेटौंडामा रहेको उक्त केन्द्रमा औषधि अभावका कारण उपचार गराउन आउनेको संख्यामा कमी आएको छ ।
आयुर्वेदिक औषधिबाट कुनै पनि ‘साइड इफेक्ट’ नहुने भएकाले बिरामीको संख्या बढ्ने गरेकोमा अहिले औषधिको अभावमा रित्तै फर्किने गरेका छन् ।
विभिन्न रोगका करिब २३ प्रकारका आयुर्वेदिक औषधि निःशुल्क वितरण गर्दै आएको सो केन्द्रमा हाल १० प्रकारका औषधिसमेत नरहेको त्यहाँ कार्यरत कर्मचारीहरू बताउँछन् ।
विशेषगरी बाथ, पित्त, कफ, ग्यास्टिक, ववासिर, अल्सर, ज्वरो, कमलपित्त, कमजोरी, भोक नलाग्ने, हात र खुटा सुन्निने झमझमाउने र पोल्ने तथा पारालाइसिसलगायत विभिन्न रोगका बिरामीलाई दिइने औषधि सकिदा पनि प्रदेश सरकारले उपलब्ध नगराएकाले सेवा लिनेहरू मारमा परेको बताइएको छ ।
दैनिक ८५ बिरामी उपचारका लागि आउने गरेकोमा औषधि अभावका कारण हाल दैनिक ३० देखि ३५ बिरामी आउने गरेको केन्द्रका सूचना अधिकारी अशोक झाले बताए । बिरामीलाई विभिन्न औषधिको प्रयोगसँगै उपकरणको सहायताले सेकताप र रोग अनुसारको उपचार पद्धति प्रयोग हुँदै आएको उनले जानकारी दिए ।
विगत दुई वर्षदेखि विश्वमहामारीकारूपमा फैलिएको कोरोनाको संक्रमणबाट जोगिनका लागि उक्त स्वास्थ्य केन्द्रमा उपचार गराउन र परामर्श लिनेको संख्या बढ्दै गएको थियो ।
प्रदेश सरकारसँग औषधि खरिदका लागि रकम माग गरिएकोमा अहिलेसम्म प्राप्त हुन नसकेको सूचना अधिकारी झाले जानकारी दिए । त्यस्तै स्वास्थ्य केन्द्रमा जनशक्तिको अभावका कारणले कार्य सम्पादनमा समेत समस्या भएको उनको भनाइ छ ।
उक्त केन्द्रबाट आर्थिक वर्ष २०७८/७९ मा ९ हजार ज्ञ सय ११ बिरामीले उपचार सेवा लिएकोमा ४ हजार ५ सय १५ महिला र ४ हजार ४ सय ९५ पुरुष रहेका छन् ।
केन्द्रमा प्रयोगशाला, फिजियोथेरापी, क्षारसूत्र, पञ्चकर्म, योग सेवाका साथै ज्येष्ठ नागरिकहरूलाई रसायन औषधि वितरण तथा स्तनपायी आमाहरूका लागि दुग्धबर्धक औषधि वितरणसमेत हुँदै आएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij