वेबटिभी खबर
काठमाडौं । अविरल वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका-८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोशी नदीको बाँध फुटेसँगै जोखिममा परेका मानिसलाई सुरक्षित स्थानमा सार्ने क्रम चलिरहेको छ ।
बुधवार बिहान ४ बजेतिर सप्तकोशी नदीको बाँध फुटेर गाउँ पसेको हो । नदी फुटेर गाउँ पसेसँगै बेलका नगरपालिका- २, ३, ८, ९ र बराहक्षेत्र नगरपालिका- ६ डुबानमा परेका छन् ।
उदयपुरको बेलका नगरपालिका- ८ को लाहुरे खोचमा सप्तकोशी नदी फुटेपछि डुम्रीबोटे, मसानघाट, धौरी टप्पु, चिलिया टप्पु, एबीसी, श्रीलंका टापु, रामनगर, बोचि, भागलपुर, क्रान्ति टोल, बानडाँडा र कोशी टप्पु आरक्षका ४ हजार घर परिवार उच्च जोखिममा परेका छन् ।
तीव्र रूपमा बाँध कटान गर्दै कोशी बस्तीमा पसेपछि नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, जनप्रतिनिधि, स्थानीयवासीसहित संयुक्त रूपमा प्रभावित क्षेत्रका मानिसलाई सुरक्षित स्थानमा सार्ने कार्यमा खटिएका छन् ।
७० मिटरभन्दा बढी बाँध कटान गरेर कोशी बस्ती पसेको छ । नदीको बाँध फुटेर गाउँ पस्दा के कति क्षति भएको छ त्यसको यकिन तथ्यांक आउँन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए ।
नदी तटीय क्षेत्रका स्थानीयवासी वषौंदेखि यो समस्यासँग जुध्दै आएका छन् ।
काेशी सम्झौता अनुसार भारत सरकारले नदिको दुवैतर्फ स्थायी तटबन्ध नबनाएका कारण पछिल्लो केही वर्षयता बाढी र डुबानको समस्या झन् बढेको स्थानीयवासी बताउँँछन् । नदी गाउँतिर सोझिएकोले ढुक्कले निदाउने अवस्था नभएको उनीहरूको गुनासो छ ।
सप्तकाेशीले धार परिर्वतन गरि पश्चिमतर्फ कटान गरेपछि बेलका नगरपालिका- २, ३, ८ र ९ उच्च जोखिममा परेका हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij