वेबटिभी खबर
बैतडी । भारतसँग सीमा जोडिएको बैतडी जिल्लाबाट पछिल्लो तीन वर्षमा करिब २ सयजना हराएका छन् ।
आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्म १ सय ८९ जना हराएका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । उनका अनुसार आव २०७६/७७ मा ४५, २०७७/७८ मा ६०, आव २०७८/७९ मा ८४ जना हराएका हुन् ।
उक्त अवधिमा हराएकामध्ये अधिकांश महिला तथा बालबालिका रहेका छन् । हराएकामध्ये आव २०७६/७७ मा ३८, २०७७/७८ मा ३९, आव २०७८/७९ मा ५३ जना फेला परिसकेका छन् । ५९ जना अझै सम्पर्कविहीन रहेका छन् ।
हराएकाहरूकाे अझै पनि जिल्लास्थित मातहतका प्रहरी चौकी तथा छिमेकी जिल्लामा हुलिया एवम् तस्वीरसहित पत्राचार गरिएको र खोजी भइरहेको छ । हराउने महिला तथा बालबालिकामध्ये केही प्रहरीको सक्रियतामा भेटिन्छन् भने केही आफन्तकै पहलमा भेटिने गरेका हुन् ।
पछिल्लो केही वर्षदेखि बैतडीबाट महिला तथा बालबालिका हराउनेक्रम बढिरहेको प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक रमेश पालले बताए । घरेलु हिंसा, उमेर नपुग्दै प्रेम गर्ने र भाग्ने गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij