वेबटिभी खबर
काठमाडौं । नापी किताब र बिल तयार पारेवापत सेवाग्राहीसँग घुस लिएको आरोपमा रोल्पा जिल्लाको गंगादेव गाउँपालिकाका इन्जिनीयर नविन डाँगीमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार विषेश अदालतमा मुद्दा दायर गरेको छ ।
गत असार ४ गते डाँगीलाई मोटरबाटो निर्माणको योजनाको नापी किताब र बिल तयार गरेवापत सेवाग्राहीसँग लिएको ५० हजार नगदसहित नेपालगन्जबाट आयोगको टोलीले पक्राउ गरेको थियो ।
पक्राउ परेका डाँगीको साथबाट थप ३ लाख ५६ हजार ५ सय नगद पनि बरामद भएको र त्यसको समेत स्रोत नखुलेको आयोगले जनाएको छ ।
डाँगीमाथि चार लाख ६ हजार ५ सय विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिम जरिवाना र सोही ऐनको दफा ३ को उपदफा १ को खण्ड घ बमोजिम कैद सजाय मागदावी गरिएको छ ।
त्यसैगरी बरामद भएको रकम जफतको समेत माग गरिएको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij