Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

बैतडीमा थपिए दुई हजार मतदाता

बैतडीमा थपिए दुई हजार मतदाता

  • 357
    SHARES
  • बैतडीमा थपिए दुई हजार मतदाता

    बैतडी । बैतडीमा २ हजार ३ सय ८१ मतदाता थपिएका छन् । थपिएका मतदातामा १ हजार १०२ महिला र १ हजार २ सय ७९ पुरुष रहेका छन् ।

    जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर तर्कराज जोशीका अनुसार थपिएका मतदातामा एक महिला र ६ पुरुष अर्को जिल्लाका रहेका छन् । मतदाताले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् ।

    गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा बैतडीमा १ लाख ४८  हजार ६ सय ६ मतदाता थिए । आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई ध्यानमा राखेर गत असार १ गतेदेखि बैतडीमा पनि फोटोसहितको मतदाता नामावली संकलन र अद्यावधिक कार्य जारी रहेको छ ।

    जिल्ला प्रशासन, जिल्ला निर्वाचन र इलाका प्रशासन कार्यालय पुर्चौंडी हाटबाट फोटोसहित मतदाता नामावली संकलन र अद्यावधिक कार्य भइरहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधव फुयालले जानकारी दिए ।

    फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न १६ वर्ष उमेर पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका नागरिकले सक्नेछन् । फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता १६ वर्षमा हुने भए पनि मताधिकारका लागि १८ वर्ष पूरा भएको हुनुपर्दछ ।

    फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि नेपाली नागरिकताको प्रमाणपत्र, विवाहित महिलाको हकमा विवाह दर्ताको प्रमाणपत्र, बसाइँसराइै गरेर आएकाको हकमा बसाइँसराईको प्रमाणपत्र आवश्यक पर्ने कार्यालयले जनाएको छ ।

    जिल्ला बाहिरका नागरिकले पनि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन् । मतदाता नामावली संकलनको क्रममा नामावलीमा रहेको त्रुटि सच्याउन र संशोधन गर्ने कार्य पनि भइरहेको छ ।

    मतदाता नामावली विवरणमा रहेको त्रुटि सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदानस्थल परिवर्तन गर्न तथा दोहोरो परेको नाम हटाउने काम जिल्ला निर्वाचन कार्यालयमा भइरहेको छ ।

    गत असार १ गतेदेखि सुरु भएको फोटो मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा नहुँदासम्म जारी रहने बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # मतदाता

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij