वेबटिभी खबर
काठमाडौं । अर्घाखाँची, रूपन्देही, कपिलवस्तु र मोरङमा डुबेर ४ जनाको मृत्यु भएको छ । अर्घाखाँचीको मालारानी गाउँपालिका-४ मखता बस्ने २० वर्षीय बिक्रम खनालको सितगंगा नगरपालिका-१२ कुन्द्रे खोलामा डुबेर शनिबार मृत्यु भएको छ ।
खोलामा पौडी खेल्ने क्रममा डुबेर बिक्रम बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा अचेत अवस्थामा उनलाई फेला पारेको थियो ।
उनको सामुदायिक अस्पताल ४ नम्बर कपिलबस्तुमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै रूपन्देहीको कञ्चन गाउँपालिका-१ हात्ती बजार बस्ने ७ वर्षीया रीतु गमालको सोहीठाउँस्थित नमुना सामुदायिक वनमा रहेको पोखरीमा डुबेर शनिबार मृत्यु भएको छ ।
साथीहरूसँग खेल्दै जाने क्रममा चिप्लिएर उक्त पोखरीमा डुबेर अशक्त भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी कपिलवस्तुको बुद्धभुमि नगरपालिका-८ पचगैया बस्ने १८ वर्षीया सिता यादवको घर नजिकको खेतस्थित पानी जमेको खाल्डोमा डुबेर शनिबार साँझ मृत्यु भएको छ ।
खेतमा काम सकी उक्त पानी जमेको खाल्डोमा हातखुट्टा धुने क्रममा उनको डुबेर मृत्यु भएको बताइएको छ । मोरङको सुनवर्षी नगरपालिका-९ भेडुवाथान बस्ने दिलिप सुतियारको तीन वर्षीय छोरा राहुल सुतियारको सोही ठाउँस्थित पोखरीमा डुबेर शनिबार मृत्यु भएको छ ।
पोखरिमा डुबेर अशक्त अवस्थामा फेला परेका उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij