वेबटिभी खबर
नुवाकोट । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार बेत्रावतीस्थित उत्तरगयाधाम पुगेर पूजाअर्चना गरेकी छिन् । नुवाकोट र रसुवाको सीमामा रहेको उक्त धाममा पूजा गर्नाका साथै धामको अवस्था बारेमा भण्डारीले जानकारी लिएकी हुन् ।
आज बिहान नुवाकोट सदरमुकाम विदुरस्थित सैन्य तालिम केन्द्रसम्म हेलिकप्टरमा गएकी राष्ट्रपति भण्डारी विदुरदेखि बेत्रावतीसम्म गाडीमा गएकी थिइन् । बेत्रावतीमा उनलाई रसुवा जिल्ला समन्वय समिति प्रमुख अशोक घिमिरे, उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्याललगायतले स्वागत गरेका थिए ।
राष्ट्रपति भण्डारीले रसुवा उत्तरगया गाउँपालिका-५ मा रहेको राममन्दिर र विष्णु पादुकामा पूजा गरेकी छिन् । मन्दिर क्षेत्रमा उपस्थित जनप्रतिनिधि र स्थानीय अगुवाका कुरा सुनेपछि उनले उत्तरगया क्षेत्रको विकासका लागि आफ्नो ठाउँबाट पहल गर्ने र संघीय सरकारलाई पनि जानकारी गराउने बताइन् ।
राष्ट्रपति भण्डारीले बेत्रावतीस्थल धार्मिक हिसाबले महत्वपूर्ण स्थान भएकाले यसको विकासमा चासो दिएकी थिइन् । जिसस प्रमुख घिमिरेले यहाँको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वको बारेमा जानकारी गराएका थिए ।
उनले यस स्थललाई बृहत् धामकोरूपमा विकास गर्नका लागि भूमिका निर्वाह गर्न राष्ट्रपति भण्डारीसमक्ष आग्रह गरे । जिसस प्रमुख घिमिरेले भने, ‘यहाँको बृहत्तर विकासको खाँचो छ । राष्ट्रपतिको भ्रमणले यसको प्रचारमा समेत टेवा पुग्नेछ ।’
राष्ट्रपति भण्डारीले उत्तरगयाधाम अवलोकन पछि विदुरस्थित सैन्य तालिम केन्द्रमा जिल्लाका संघीय र प्रदेश सांसद, जिसस प्रमुखलगायत जनप्रतिनिधि र प्रशासन प्रमुखसँग जिल्लाको वस्तुस्थितिको बारेमा अनौपचारिक कुराकानी गरेकी थिइन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij