वेबटिभी खबर
लमजुङ । निरन्तर अविरल वर्षासँगै आएको बाढी र पहिरोले बुधबार रातिदेखि डुम्रे-बेंसीसहर सडकखण्ड अवरूद्व भएको छ । उक्त सडकअन्तर्गत बेंसीसहर नगरपालिका वडा नंं-१ स्थित उदिपुरको देउराली डाँडामा पहिरोले सडक अवरूद्व भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदिश रेग्मीले भने, ‘यस सडकको वैकल्पिकरूपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने भागमा माथिबाट पहिरो खसेर सडक अवरूद्व पारेको छ ।’
गए रातिदेखि परेको अविरल वर्षा अझै नरोकिँदा पहिरो जाने तथा लेदो खस्ने क्रम जारी रहेको उनको भनाइ छ । पानी परिरहेकाले मर्स्याङ्दी नदीमा पानीको बहाव बढेमा उक्त सडक कटान गर्न सक्ने सम्भावना छ ।
पटक-पटक आएको बाढी र पहिरोले यात्रा गर्न समस्या हुँदै आएको छ । प्रहरीका अनुसार सडक अवरूद्व भएसँगै कुनै पनि सवारी साधन आवतजावत हुन सकेको छैन ।
गत वर्ष र असार पहिलो साता गएको बाढीले डुम्रे-बेंसीसहरको देउराली डाँडाको सडक बगाएपछि उक्त स्थानबाट वैकल्पिक सडक सञ्चालन हुँदै आएको थियो तर उक्त वैकल्पिक सडकसमेत बाढी र पहिरोको चपेटामा परेको छ ।
गन्तव्यमा बिहानै जान लागेका यात्रु सडक अवरूद्वका कारण समस्यामा परेका छन् । पानी नरोकिएसम्म अवरूद्व सडक खुलाउन असम्भव हुने बताइएको छ । वैकल्पिक सडकसमेत अवरूद्व हुन थालेपछि काठमाडौं, पोखरा, चितवनलगायत बेंसीसहर आवत-जावत गर्ने यात्रुलाई सास्ती भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij