Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

खुमलटारमा वामदेवको ‘बार्गेनिङ’

खुमलटारमा वामदेवको ‘बार्गेनिङ’

  • फाल्गुण १३, २०७७ बिहिवार १२:१८ बजे
  • 1.0K
    SHARES
  • खुमलटारमा वामदेवको ‘बार्गेनिङ’

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेम गौतम बिहीबार बिहान पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगे । प्रतिनिधिसभा पुर्स्थापनापछि नेकपामा उत्पन्न शक्ति संघर्षका दौरानमा गौतमको खुमलटार चासोलाई नेकपा वृत्तमा चासोका साथ हेरिएको छ ।
     
    उनले रूपमा पार्टी एकताको प्रयासका लागि आफूले प्रचण्डलाई भेटेको अर्थ लगाए पनि यसको सार भने अब बन्ने सम्भावना रहेको नयाँ सरकारको सत्ता समीकरणमा आफ्नो हिस्सेदारीको ‘बार्गेनिङ’ का लागि गौतमले प्रचण्ड भेटेको हुनसक्छ । 

    उपाध्यक्ष गौतमले आज बिहान प्रचण्डसँग भेटेर पार्टी एकताका पक्षमा बल गरेको गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले जानकारी दिए । नेकपामा गौतम तिनै पात्र हुन् जो ०७५ जेठ ३ मा पार्टी एकताको मियो मानिन्थे ।

    ‘पार्टी सङ्कटमा रहेको बेला उहाँ (गौतम) को दौडधुप एकताका लागि हो या सत्ता समीकरणमा आफ्नो बलियो भाग खोज्नका लागि यो केही दिनमा नै बुझिएला,’ प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका एक नेताले बताए ।

    प्रधानमन्त्री ओलीले पुस ६ मा प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड-माधव नेपाल समूह र ओली समूह बनेर नेकपामा यतिबेला आन्तरिक संकट उत्कर्षमा पुगेको छ । प्रतिनिधिसभा विघटन भएपछि गौतमले भन्नलाई पार्टी एकताको पहलमा रहेको बताए पनि उनले खुलेर न ओली पक्ष न प्रचण्ड-नेपाल कुनै पनि समूहको समर्थन र विरोध गरेनन् । 

    यसैले गौतमको निकट अतितको मौनता र वर्तमानको बढ्दो सक्रियताले ओली पक्ष या प्रचण्ड-नेपाल पक्ष कसको पल्ला भारी बनाउने केही दिनमा थाहा हुने ओली पक्षका ती नेताको भनाइ छ ।

    आज बिहान भएको प्रचण्ड-गौतमबीच करिब आधा घण्टा लामो छलफलमा गौतमले नेकपालाई मिलाएर अघि लैजानु पर्ने बताए पनि यसमा प्रचण्डको निर्णायक प्रतिक्रिया नआएको गौतम निकट स्रोत बताउँछ । 

    बुधबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले तत्काल राजीनामाको माग राख्ने गौतम र प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदमविरुद्ध खनिएका प्रचण्ड–नेपाल एउटै समूहमा रहने सम्भावना पनि उत्तिकै छ ।

    ‘उता प्रचण्ड-नेपाल कमरेड सरह र यता दोस्रो बरियताको बार्गेनिङ उहाँका लागि कुन नौलो हो र ? उहाँको बार्गेनिङले नेकपालाई के फरक पर्छ र ?’ ओलीनिकट ती नेताले बताए ।

  • सम्बन्धित विषय:

  • # नेकपा
  • # वामदेव गौतम

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij