Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

सिकलसेल र थालसेमियाका लागि बजेट विनियोजन

सिकलसेल र थालसेमियाका लागि बजेट विनियोजन

  • 557
    SHARES
  • सिकलसेल र थालसेमियाका लागि बजेट विनियोजन

    बाँके । बाँकेका तीन स्थानीय तहले सिकलसेल एनिमिया र थालसेमियालाई उच्च प्राथमिकता दिँदै ठूलो परिमाणमा बजेट विनियोजन गरेका छन् ।

    जिल्लाका तीन स्थानीय तहले आर्थिक वर्ष २०७९/८० का लागि ७ करोड २० लाख विनियोजन गरेका हुन् । उक्त रकममध्ये सबैभन्दा बढी कोहलपुर नगरपालिकाले १ करोड र सबैभन्दा कम वैजनाथ नगरपालिकाले ५ लाख बजेट विनियोजन गरेको हो ।

    राप्ती सोनारी गाउँपालिकाले भने १५ लाख छुट्याएको छ । थारु समुदायमा फैलिँदो सिकलसेल र थालसेमियाले विकरालरूप लिएको र उनीहरूको स्वास्थ्य अवस्थादेखि आर्थिक अवस्थासमेत कमजोर भएकाले यसलाई उच्च प्राथमिकतामा राखिएको स्थानीय सरकारले बताएका हुन् ।

    स्थानीय सरकारको नीति तथा कार्यक्रमदेखि बजेटसम्म सिकलसेल र थालसेमियालाई उच्च प्राथमिकता दिइएकाले उनीहरूको स्वास्थ्य अवस्थाप्रति स्थानीय सरकारको चासो देखिएको हो ।

    खासगरी जिल्लाको कोहलपुर नगरपालिका, वैजनाथ गाउँपालिका र राप्ती सोनारी गाउँपालिकामा सो रोगलाई उच्च प्राथमिकता दिँदै बजेट विनियोजन गरिएको छ । उक्त रोगका कारण थारु समुदाय वर्षौंदेखि निजी अस्पतालमा भौतारिँदा पनि बिरामी निको नहुनाका साथै ठूलो रकम खर्च गर्न बाध्य हुँदै आएका छन् ।

    सरकारले सिकलसेल र एनिमियाका बिरामीलाई १ लाखसम्म निःशुल्क उपचार गर्ने नीति ल्याए पनि लक्षित समुदायसँग पुग्न नसक्दा उपचार पद्धतिबारे बिरामी अनविज्ञ देखिएका छन् ।

    जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत धीरजंग शाहले अहिले गाउँगाउमा पुगेर जानकारी गराउन थालिएपछि सरकारले उपचार गर्दोरहेछ भन्ने कुरा थाहा पाउन थालेका र गाउँगाउमा शिविर पनि सञ्चालन भइरहेको बताए ।

    तीन स्थानीय तहमा रहेका ९० प्रतिशत थारु सुमदायलाई लक्ष गरेर कार्यक्रम सञ्चालन गरिएको जानकारी दिँदै उनले कोहलपुरमा दुई वर्षदेखि सिकलसेल र थालसेमियाको स्क्रीनिङ गरिएको उल्लेख गरे ।

    अधिकृत शाहले जिल्लाका सबै पालिकामा त्यसको खोजी नभएको जनाउदै अझै निश्चित संख्यामा बिरामी आउन नसकेको उल्लेख गरे । वैजनाथ गाउँपालिकाका सूचना अधिकारी तप्तराज आचार्यले गाउँपालिकाका-८ वडामध्ये सबैभन्दा वढी ७ र ८ मा थारु समुदायको बाहुल्य रहेको उल्लेख गर्दै गत वर्ष पनि ५ लाख बजेट छुट्याइएको जानकारी दिए ।

    उनले वैजनाथमा नै स्क्रीनिङ कार्य नभएकाले कति बिरामी छन् भन्ने निश्चित नभएको उल्लेख गर्दै सबै बिरामी भेरी अस्पताल र नेपालगञ्जमा जाने गरेको बताए । कोहलपुर नगरपालिकाका ल्याब टेक्निसयिन शिव गौतमले नगरपालिकामा अहिलेसम्म ४३ सिकलसेल र १८ थालसेमियाका बिरामी रहेको बताए ।

    उनले सिकलसेलका ७९४ बाहक र थालसेमियाका लक्षण देखिएका १४६ जना भएको बताए । १५ वडा रहेका नगरपालिकाको ६ र ७ मा सबैभन्दा बढी सिकलसेल र थालसेमियाका बिरामी छन् ।

    राप्ती सोनारी गाउँपालिकामा अहिलेसम्म २३ जना सिकलसेल एनिमियाका बिरामी फेला परेका छन् । स्वास्थ्य कार्यालयले राप्तीसोनारीमा आयोजना गरेको स्क्रीनिङ शिविरमा ५७२ को रगतको नमूना जाँच गर्दा ९६ सिकलसेल तथा थालसिमियाका बिरामी तथा बाहक फेला परेका थिए ।

    तीमध्ये ५८ सिकलसेल बाहक भेटिएका थिए । त्यस्तै बिटाथालसेमिया बाहक ३३ फेला परेका थिए । अहिले रोग नदेखिए पनि तिनबाट जन्मेको बच्चामा रोग सर्न सक्नेलाई ‘बाहक’भनिएको छ ।

    अहिलेको पुस्तामा रोग देखिएको छैन तर उसका सन्तानमा रोग देखिन सक्नेलाई बाहक भन्ने गरिएको हो । सिकलसेल र थालसेमियाको स्क्रीनिङ कार्य जारी रहेकाले सो रोगका बिरामी अझै बढ्ने अनुमान गरिएको स्थानीय तहले जनाएका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij