Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

विपद्को उच्च जोखिममा सुर्खेत उपत्यका

विपद्को उच्च जोखिममा सुर्खेत उपत्यका

  • 480
    SHARES
  • विपद्को  उच्च  जोखिममा सुर्खेत उपत्यका

    सुर्खेत । सुर्खेत उपत्यका मनसुनजन्य विपद्को उच्च जोखिम रहेको पाइएको छ । गुरूयोजना विपरीत जोखिमयुक्त स्थानमा धमाधम भौतिक संरचना निर्माण गरिनु र खोला-नालाको बढ्दो अतिक्रमणका कारण विपद्को जोखिम बढेको हो ।

    अव्यवस्थित ढल व्यवस्थापन तथा उपत्यकाको पानीको निकास साँघुरो हुँदा सामान्य वर्षामा समेत दक्षिणी भू-भागमा डुबानमा पर्ने गरेको छ । इत्राम, नेवारे, खोर्केखोला उपत्यकाका मुख्य खोला हुन् ।

    यहाँ खोलानाला च्यापेर थुप्रै घर निर्माण गर्ने गरिएको छ । जसले गर्दा खोला क्षेत्र साँघुरिन गई डुबानको जोखिम बढ्दै गएको छ । ‘माथिल्लो खण्डमा अपवादबाहेक २०/२५ मिटर खोला चौडा छन् । तलतिर गएपछि साँघुरो हुँदै नालामा परिणत हुन पुगेका छन्, वीरेन्द्रनगर-९ का स्थानीय प्रचण्ड पोखरलेले भने ।

    ‘डुबानको खतरा निम्त्याउने मुख्य कारण नै यही हो ।’ नगरपालिकाले नगर गुरुयोजनाको कडाइका साथ कार्यान्वयन गर्नुपर्ने स्थानीयवासी बताउँछन् । वीरेन्द्रनगर नगरपालिका वडा नं-३ मा मात्रै ५०० घरधुरी डुबान, बाढी र कटानको उच्च जोखिममा छन् ।

    वडाध्यक्ष विनोदसिंह विष्टले खोला किनारमा बनेका अधिकांश घर विपद्को जोखिम रहेको बताए । ‘चाइना पुुलबाट उत्तर र दक्षिण क्षेत्रमा खोला छेउमै बनाइएका घर जोखिममा छन्, खोला क्षेत्र ओगटेर संरचना बनाउने क्रम रोकिएको छैन’, उनले भने ।

    ‘निर्माण मापदण्डअनुसार २० मिटर जग्गा खोलालाई छाड्नुुपर्ने हुन्छ, तर त्यसको पालना हुन सकेको छैन ।’ वडाध्यक्ष विष्टले घर निर्माणको स्वीकृति दिँदा वडा कार्यालयसँग समन्वय गर्न आग्रह गरेको बताए । आफूले यसबारे कार्यपालिका बैठकमा कुरा उठाएको उनको भनाइ छ ।

    उपत्यकाबाट पानी बाहिरिने द्वार निकास खोला निकै साँघुरो छ । उक्त ठाउँमा व्यवस्थित तटबन्धन नहुँदा आसपासका बासिन्दा बर्र्सेनि डुबान र कटानको जोखिममा छन् ।

    दुई वर्षअघिदेखि थालिएको निकास खोला तटबन्धन निर्माणको काम अझै पूरा भएको छैन । हालसम्म ५०० मिटरमा मात्रै तटबन्धनको काम भएको बताइएको छ । वीरेन्द्रनगरका नगर उपप्रमुख नीलकण्ठ खनालले खोला क्षेत्रको संरक्षण गर्नका लागि निगरानी बढाइएको बताए ।

    उनले विपद् जोखिम न्यूनीकरणका लागि दीर्घकालीन कार्ययोजनाअनुसार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याइएको जानकारी दिए । २०७१ साउन २८ र २९ गते भीषण वर्षा हुँदा बाढी, पहिरो, डुबानका कारण सुर्खेतमा मात्रै १२५ जनाले ज्यान गुमाएका थिए ।

    सुर्खेत चुरे र महाभारत शृङ्खलाको बीचमा अवस्थित कमजोर धरातलबाट बनेको जिल्ला भएकाले यो मनसुनजन्य विपद्को उच्च जोखिममा पर्दछ । यहाँको करिब ४३ प्रतिशत भू-भाग महाभारत शृङ्खलाले ओगटेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij