वेबटिभी खबर
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डेमोक्रेटिक पार्टीहरूको अन्तर्राष्ट्रिय एलाइन्सको अग्रणी संस्था अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियन (आइडियु)को पूर्ण सदस्य बनेको छ ।
यसअघि नेपालबाट आइडियु फोरमको बैठकमा आमन्त्रितको रूपमा सहभागी हुँदै आइरहेको राप्रपाले झन्डै डेढ दशकपछि आइडियुको पुर्ण सदस्यता प्राप्त गरेको राप्रपा प्रचार विभाग प्रमुख एवम् प्रवक्ता माेहन श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार जर्मनको बर्लिन शहरमा जुन २६ देखि २९ गतेसम्म चलेको आइडियुको फोरम बैठकले राप्रपालाई पूर्ण सदस्यता दिएको हो ।
राप्रपाको तर्फबाट फोरमको बैठकमा सहभागी पार्टीका उपाध्यक्ष एवम् सचिवालय प्रमुख हेमजङ गुरूङले आइडियुका अध्यक्ष, क्यानडाका पूर्व प्रधानमन्त्री स्टेफेन हार्परबाट आइडियुको पुर्ण सदस्यताको प्रमाण पत्र ग्रहण गरेका हुन् ।
बर्लिनमै भएको अन्तर्राष्ट्रिय डेमोक्रेटिक युवा युनियनको बैठकमा राप्रपाका केन्द्रीय सदस्य तथा आइवाइडियुका उपाध्यक्ष हिकमत जङ्ग कार्की सहभागी भएका छन् ।
आइडियु फोरम बैठकका क्रममा युरोप पुगेका उपाध्यक्ष गुरूङ जर्मनी, नेदरल्यान्डस्, अष्ट्रिया, बेल्जियम र स्विटजरल्याण्डमा हुने पार्टी निकट प्रवासी नेपाली एकता समाजको विभिन्न कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेकाे छ ।
विश्वका ८४ देशका विभिन्न राजनीतिक दलले आइडियुको पूर्ण सदस्यता प्राप्त गरेका छन् भने ६५ देशका विभिन्न राजनीतिक दलहरू आमन्त्रित रहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij