वेबटिभी खबर
काठमाडौं । पछिल्ला प्रमाणहरूले बालबालिका कोभिड १९ बाट संक्रमित हुन सक्छन् र एकअर्का तथा वयस्कहरूलाई पनि संक्रमित गर्न सक्दछन् भनेर देखाउँदछ । यद्यपि, उनीहरू संक्रमणबाट गम्भीर रुपमा विरामी पर्ने जोखिम कम छ र साना बालबालिकाले ठूलाहरूलाई भाइरस सार्ने सम्भावना कम हुन्छ ।
बालबालिकालाई कोभिड १९ को कुनै लक्षण नभएको अवस्थामा पनि सार्वजनिक स्थलमा रहँदा अनुहारमा मास्क लगाएर उनीहरूले कोभिड १९ सार्नबाट रोक्न मद्दत गर्न सक्छन् र आफ्नो परिवार, आफ्नो समुदायसँगै आफ्नो सुरक्षा गर्न सक्दछन् ।
हामीले बालबालिकालाई उनीहरूले दैनिक जीवनमा मास्क कसरी लगाउनुपर्दछ भनेर मुख्य सुझावहरू प्राप्त गर्न युनिसेफका स्वास्थ्य विशेषज्ञ श्रीहरि दत्तसँग कुरा गरेका थियौं ।
मास्कले कसरी काम गर्दछ ?
कोभिड १९ मानिसहरूले कुरा गर्दा, गाउँदा, खाँदा वा खोक्दा बन्ने श्वासप्रश्वासका थोप्लाहरू मार्फत फैलिन्छ ।
व्यक्तिहरूको शरीरभित्र कुनै पनि लक्षणविना पनि भाइरस रहेको हुन सक्दछ । यसको मतलब तपाईं र तपाईंका बालबालिकाले रोग सार्न सक्नुहुन्छ र तपाईंहरुलाई यो थाहा नहुन पनि सक्दछ ।मास्कले कोभिड १९ का छिटाहरु फैलिन नदिइ अन्य व्यक्तिमा सर्नबाट रोक्ने काम गर्दछ । मास्कले लगाउने व्यक्तिलाई सासको थोपाहरू लिन र संक्रमित हुनबाट पनि जोगाउन सक्दछ ।
बालबालिकाले कहिले मास्क लगाउनुपर्दछ ?
तपाईंको बालबालिकाले मास्क लगाउनु पर्छ कि पर्दैन भन्ने कुरा धेरै कुराहरूमा निर्भर हुन्छ । उनीहरूको उमेर, सुरक्षित रूपमा मास्क प्रयोग गर्ने क्षमता र उनीहरू बिरामी भएका कोहीसँगको भौतिक सम्पर्कमा छन् की छैनन् भन्ने कुरा प्रमुख हुन्छन् ।
दक्षिण एसियाभरि, केहि सरकारहरूले सार्वजनिक र उमेरमा आधारमा मास्क प्रयोगका थप आवश्यकताहरू निर्धारण गरेका छन् । तपाईंको स्थानीय निकायहरुको निर्देशहरूको बारेमा जानकारी लिनुहोस् ।
५ वर्षभन्दा कम उमेरका बालबालिकामा
सामान्यतया, ५ वर्ष र सोभन्दा कम उमेरका बालबालिकाले मास्क लगाउनु पर्दैन । यो सल्लाह साना बालबालिकाको सुरक्षा र सम्पुर्ण हितमा आधारित छ ।
केही देशहरूले धेरै साना बालबालिकाको लागि मास्क प्रयोगको बारेमा थप स्थानीय मार्गदर्शनहरु जारी गरेका छन् । उदाहरणको लागि, यदि बालबालिका कोही बिरामी भएकाहरुसँग भौतिक रूपबाट नजिक छन् भने ।
यदि तपाईंको ५ वर्ष भन्दा कम उमेरका बालबालिकालाई मास्क लगाउनु आवश्यक छ भने, उनीहरु सधैं तपाईंले सुपरिवेक्षण गर्न सक्ने गरि प्रत्यक्ष निगरानीमा भएको सुनिश्चित गर्नुहोस् ।
६ देखि ११ वर्षका बालबालिकामा
कोभिड १९ तपाईंको क्षेत्रमा व्यापक रुपमा फैलिएको छ की छैन । तपाईंको बालबालिकाले सुरक्षित र उपयुक्त रुपमा मास्क प्रयोग गर्न सक्दछन् की सक्दैनन् । तपाईंको मास्कमा पहुँच छ की छैन र तिनीहरूलाई धुन र प्रतिस्थापन गर्न सक्नुहुन्छ की सक्नुहुन्न । बालबालिकाले मास्क लगाइरहेको वयस्कले सुपरिवेक्षण गर्न सक्दछन भने ।
तपाईंका बालबालिकाले सुरक्षित रूपमा कसरी मास्क लगाउने, फुकाल्ने र राख्ने तरिका जानेका छन् की छैनन् ।
तपाईंको बालबालिकाले गम्भीर बिरामी हुने उच्च जोखिममा भएका अन्य व्यक्तिहरूसँग अन्तरक्रिया गरेका छन् की छैनन् । उदाहरणको लागी, वृद्ध र स्वास्थ्य समस्या भएका मानिसहरु ।
मास्क लगाउने कारणले तपाईंको बालबालिकाको व्यक्तिगत सिकाइ र मनोवैज्ञानिक विकासमा हुन सक्ने सम्भावित प्रभावलाई पनि तपाईले विचार गर्नुपर्दछ । तपाईंको बालबालिकाका शिक्षकहरू वा चिकित्सा प्रदायकहरूसँग परामर्श गरेर यो विषयमा निर्णय लिनुहोस् ।
कपडाको मास्क
गैह्र चिकित्सकीय मास्कको रूपमा पनि चिनिने कपडाको मास्कहरू प्रायः कपासले बनेका हुन्छन्। तिनीहरू विभिन्न शैली र रंगहरूमा आउँदछन् र तिनीहरुलाई धुन र पुनः प्रयोग गर्न सकिन्छ। प्रभावकारी हुनको लागि, तिनीहरूलाई कम्तीमा कपडाको तीन तहको बनाउनु पर्दछ।
बालबालिकासहित धेरै व्यक्तिहरुलाई यस प्रकारको मास्क लगाउन विश्व स्वास्थ्य संगठन सिफारिस गर्दछ ।
कपडाको मास्कलाई प्रत्येक प्रयोगपछि साबुन वा डिटर्जेन्टको प्रयोग गरी तातो पानीमा दैनिक रुपमा धुनु पर्दछ। यसरी धोएपछि, मास्कलाई पुनः प्रयोग गर्नुअघि पूर्ण रूपमा सुक्न दिनुहोस् । कपडाको मास्क महँगो पर्न सक्दछ, तर तपाईं आफैले आफ्नै घरमा बनाउन सक्नुहुन्छ ।
मेडिकल मास्क
सर्जिकल मास्क भनेर पनि चिनिने मेडिकल मास्क नबुनिएका कपडाबाट बनेको हुन्छ । यी सामान्यतया तीन तहका हुन्छन् र स्वास्थ्यकर्मीहरूको लागि डिजाइन गरिएका हुन्छन् ।
विश्वव्यापी महामारीको कारण मेडिकल मास्कहरुको आपूर्ति कम भइरहेको छ । त्यसैल केही समूहले मात्र यस्तो प्रकारको मास्क लगाउनु पर्दछ भनेर विश्व स्वास्थ्य संगठनले सिफारिस गर्दछ ।
यसमा स्वास्थ्यकर्मीहरू, ६० वर्ष भन्दा बढि उमेरका, अन्तर्निहित स्वास्थ्य समस्या भएका, कोभिड १९ भएका व्यक्तिको हेरचाह गर्ने र कोभिड १९ को लक्षण भएका वा वा पुष्टि भएका वा संक्रमित व्यक्तिहरू पर्दछन् ।
यसको अर्थ अन्तर्निहित स्वास्थ्य समस्या भएको र कोभिड १९ को लक्षणहरू वा पुष्टि भएको, वा जो कोही बिरामीहरुको नजिक छन् भने मात्रै बालबालिकाले यस प्रकारको मास्क लगाउनु पदर्छ ।
मेडिकल मास्कहरू धुन योग्य वा पुनः प्रयोग गर्न योग्य हुँदैनन् र आठ घण्टाको निरन्तर प्रयोगपछि सुरक्षित रुपमा फाल्नुपर्दछ ।
विश्व स्वास्थ्य संगठन र युनिसेफकाे फेसबुक वालबाट
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij