वेबटिभी खबर
काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले आज सूचना प्रकाशित गर्दै पाँच वर्ष अवधिको विकास ऋणपत्र बिक्री गर्ने जानकारी दिएको हो ।
बोलकबोलबाट ब्याजदर निर्धारण हुने ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।
इच्छुक खरिदकर्तामध्ये प्रतिस्पर्धीले निष्काशित रकमको ८५ प्रतिशत अर्थात् १२ अर्ब ७५ करोड र अप्रतिस्पर्धीले १५ प्रतिशत अर्थात् २ अर्ब २५ करोड बराबरको ऋणपत्र खरिद गर्न सक्ने केन्द्रीय बैंकले जनाएको छ ।
ऋणपत्रको साँवा भुक्तानी २०८४ असार १५ गते हुने छ भने यसको ब्याज अर्धवार्षिकरूपमा हुने र ब्याजमा आयकर लाग्ने सूचनामा उल्लेख छ । खरिदकर्ताले घटीमा ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमा नबढाइ ५० हजारले भाग गर्दा निशेष भाग जाने अंक बराबर खरिद गर्न पाउने छन् ।
दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत हुने ऋणपत्र खरिदको बोलकबोल मंगलबार हुनेछ । यस्तो ऋणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋणसमेत लिन सकिने छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij