वेबटिभी खबर
काठमाडौं । नवनियुक्त सहरी विकासमन्त्री मेटमणि चौधरीले संविधान एवम् कानुन अनुसार काम गर्न मन्त्रालय तथा त्यसअन्तर्गतका विभाग र निकायका कर्मचारीलाई निर्देशन दिएका छन् ।
शपथ ग्रहणपछि आज मन्त्रालयमा पदबहाली गरि कर्मचारीलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक व्यवस्थामा व्यक्तिभन्दा कानुन महत्वपूर्ण हुने बताए ।
कानुनअनुसार चलेमात्र लोकतन्त्र संस्थागत हुने भएकाले पनि त्यसैअनुरुप काम गर्नुपर्नेमा मन्त्री चौधरीले जोड दिएका थिए ।
उनले भने, ‘व्यक्ति भनेर लाग्दा संविधान बिग्रन्छ, यो विगतमा हामीले देखिसकेका छौँ । सबै जना विधिअनुसार चल्नुपर्छ । जिम्मेवारी र दायित्वअनुसार मुलुक निर्माणमा योगदान गर्नुपर्छ । कर्मचारीले नयाँ मन्त्री आउने बित्तिकै सरुवा हुन्छ भनेर डराउनुपर्दैन । नियोजित रूपमा असहयोग गर्नेलाई भने छोड्न सकिँदैन ।’
सीमान्तकृत वर्गदेखि राष्ट्रपतिसम्मको आवास निर्माण गर्ने, सहरी विकास र सरकारी भवन निर्माणको जिम्मेवारी पाएको मन्त्रालयलाई सही दिशा दिने प्रतिबद्धता मन्त्री चौधरीको थियो ।
मन्त्रालयका निमित्त सचिव पद्मकुमार मैनालीले आवास तथा बस्ती विकास, सरकारी भवन र सहरी विकासका क्षेत्रमा काम गर्ने गरी मन्त्रालय स्थापना भएको जानकारी दिए ।
मन्त्रालयले सहरी विकास, बागमती सभ्यता संरक्षण ऐन,–२०७९ मस्यौदा गरी अघि बढाउने तयारी गरेको जानकारी पनि उनले गराएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij