वेबटिभी खबर
काठमाडौं । तनहुँको भानु नगरपालिकाले आगामी आर्थिक वर्ष ०७९/०८० का लागि ८९ करोड ६८ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । बिहीबारदेखि सुरु नगरसभामा उपप्रमुख उमा गोतामेले आगामी आर्थिक वर्षका लागि उक्त अनुमाति बजेट प्रस्तुत गरेकी हुन् ।
सार्वजनिक बजेटमध्ये संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान १५ करोड ६५ लाख, सशर्त चालु अनुदान ३७ करोड आठ लाख, सशर्त पूँजीगत १ करोड ३९ लाख, विशेष अनुदान १ करोड ५० लाख, समपुरक अनुदान २ करोड २० लाख, संघीय राजस्व बाँडफाँटबाट १२ करोड ५७ लाख ६३ हजार आम्दानी हुने अनुमान छ ।
प्रदेश सरकारबाट वित्तीय हस्तान्तरणअन्तर्गत समानीकरण अनुदान १ करोड ८८ लाख, राजस्व बाँडफाँटबाट १ करोड २२ लाख १५ हजार, प्रदेश समपूरक रु एक करोड प्राप्त हुने नगरपालिकाको अनुमान छ ।
नगरपालिकाले चालु आर्थिक वर्षको असार ८ गतेसम्म ५३ करोड ४३ लाख २१ हजारअर्थात् ५२.६९ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । कूल खर्चमध्ये चालुतर्फ ३६ करोड ८३ लाख ४६ हजार ६१० र पूँजीगततर्फ १६ करोड ५७ लाख ७५ हजार रहेको नगरपालिकाले जनाएको छ ।
नगरवासीलाई घरमै सेवा पुर्याउने र कर भुक्तानीलाई सरल, सहज र प्रविधिमैत्री बनाउन चालु आवदेखि नै मालपोत तथा सम्पत्ति कर अनलाइनमार्फत भुक्तानी गर्ने व्यवस्था मिलाइएको नगरप्रमुख आनन्दराज त्रिपाठीले बताए ।
९ स्थानीय तहलको बजेट आज
जिल्लाका ९ स्थानीय तहले आगामी आर्थिक वर्ष ०७९/०८० का लागि आज नै बजेट प्रस्तुत गर्ने भएको छ । जिल्लाका तीन नगरपालिका र ६ गाउँपालिकाले आज एकैसाथ बजेट प्रस्तुत गर्न लागेका हुन् । भानु नगरपालिकाले बिहीबार नै बजेट सार्वजनिक गरिसकेको छ ।
जिल्लामा सबैभन्दा बढी व्यास नगरपालिकाले बजेट प्रस्तुत गर्ने गर्दछ । व्यासले १अर्बबढीको बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । नगरपालिकाले आज पहिलो सत्रमा वार्षिक नीति तथा कार्यक्रम र दोस्रो शत्रमा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए ।
त्यस्तै आँबुखैरेनी गाउँपालिकाले पनि बजेट, नीति तथा कार्यक्रम एकैसाथ प्रस्तुत गर्ने गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।
जिल्लाकाे भीमाद, शुक्लागण्डकी ऋषिङ, बन्दीपुर, घिरिङ गाउँपालिकाले शुक्रबार एकैसाथ बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् । देवघाट र म्याग्दे गाउँपालिकाले भने नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेका छन् भने आज बजेट प्रस्तुत गर्दै छन् ।
जिल्लाका स्थानीय तहलाई संघीय सरकारबाट चार अर्ब ३४ करोड ८७ लाख बजेट विनियोजन भएको छ । चार नगरपालिका र ६ गाउँपालिकालाई सरकारले अन्तर सरकार वित्तीय हस्तान्तरणमार्फत उक्त रकम विनियोजन गरेको अर्थमन्त्रालयले जनाएको छ ।
४ नगरपालिकाका लागि २ अर्ब ४५ करोड ५७ लाख र ६ गाउँपालिकाका लागि १ अर्ब ८९ करोड ३० लाख रूपैयाँ बजेट विनियोजन भएको छ ।
भानु नगरपालिकाका लागि चालुतर्फ ५२ करोड ७३ लाख र पूँजीगततर्फ ५ करोड ९ लाख गरि कूल ५७ करोड ८२ लाख, भिमाद नगरपालिकाका लागि चालुतर्फ ३९ करोड ६१ लाख र पूँजीगततर्फ ४ करोड ९७ लाख गरि कूल ४४ करोड ५८ लाख, व्यास नगरपालिकाका लागि चालुतर्फ ७१ करोड ३९ लाख र पूँजीगततर्फ १४ करोड ३८ लाख गरि कूल ८५ करोड ७७ लाख र शुक्लागण्डकी नगरपालिकाका लागि चालुतर्फ ४८ करोड २३ लाख र पूँजीगततर्फ ९ करोड १७ लाख गरि कूल ५७ करोड ४० लाख विनियोजन भएको छ ।
आँबुखैरेनी गाउँपालिकाका लागि चालुतर्फ २५ करोड ३४ लाख र पूँजीगततर्फ ३ करोड एक लाख गरि कूल २८ करोड ३५ लाख, ऋषिङ गाउँपालिकाका लागि चालुतर्फ ३२ करोड ८३ लाख र पूँजीगततर्फ १ करोड ८१ लाख गरि कूल ३४ करोड ६४ लाख, घिरिङ गाउँपालिकाका लागि चालुतर्फ २४ करोड ९६ लाख र पूँजीगततर्फ तीन करोड ८१ लाख गरि कूल २८ करोड ७७ लाख विनियोजन भएको छ ।
देवघाट गाउँपािलकाका लागि चालुतर्फ २८ करोड ६४ लाख र पूँजीगततर्फ २ करोड ८६ लाख गरि कूल ३१ करोड ५० लाख, म्याग्दे गाउँपालिकाका लागि चालुतर्फ २७ करोड ७९ लाख र पूँजीगततर्फ ४ करोड ७४ लाख गरि कूल ३२ करोड ५३ र बन्दीपुर गाउँपालिकाका लागि चालुतर्फ २७ करोड ४९ लाख र पूँजीगततर्फ ६ करोड २ लाख गरि कूल ३३ करोड ५१ लाख बजेट विनियोजन भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij