वेबटिभी खबर
चितवन । स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली संकलन कार्यमा उत्साहजनक सहभागिता देखिएको छ ।
जिल्ला निर्वाचन कार्यालय चितवनले असार १ गतेदेखि सुरु गरेको नामावली संकलन कार्यमा नयाँ नाम दर्ता गर्न आउनेको संख्या उल्लेख्य देखिएको हो ।
एक सातामा जिल्लाका १ हजार ८०५ ले मतदाता नामावलीमा नाम दर्ता गराएको कार्यालयका प्रमुख भीमशेन कार्कीले जानकारी दिए । यो संख्या स्थानीय तहको निर्वाचनअघि २०० हाराहारी रहेको थियो ।
उनले भने, ‘अहिले ३०० देखि ४०० को दैनिक नाम दर्ता भइरहेका छन् ।’ उनका अनुसार जिल्लामा अहिले तीन स्थानका पाँच केन्द्रबाट नामावली संकलन भइरहेको छ ।
जिल्ला निर्वाचन कार्यालय चितवनमा ३ वटा केन्द्र, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय माडीमा नामावली दर्ता भइरहेको छ । निर्वाचन कार्यालयमा एउटा बाहिरी जिल्लाको नाम दर्ता गरिएको छ भने अन्य केन्द्रबाट जिल्लाको नामावली दर्ता भएको उनले जानकारी दिए ।
जिल्ला निर्वाचन कार्यालयबाट बाह्य जिल्लाका २०८ को नाम दर्ता गरिएको छ । यस्तै सोही कार्यालयका दुई केन्द्रबाट १ हजार १६०, जिल्ला प्रशासन कार्यालयबाट ४७२ र इलाका प्रशासन कार्यालय माडीबाट १७३ ले नामावली दर्ता गराएका छन् ।
स्थानीय निकायको निर्वाचनका क्रममा उमेर पुगेर मतदान गर्न नपाएका बढी संख्यामा नामावली दर्ता गर्न आएको उनले बताए । नामावली दर्ताका लागि नागरिकताको सक्कल प्रमाणपत्र, बसाइँसराइ भए बसाइँसराइको कागजपत्र र विवाह भएर आएको भए विवाह दर्ता आवश्यक पर्ने उनको भनाइ छ ।
स्थानीय तहको निर्वाचन २०७९ मा जिल्लामा ३ लाख ९७ हजार ६८५ मतदाता रहेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij