वेबटिभी खबर
काठमाडौं । बेँसीशहर चामे सडक पहिराका कारण पुनःअवरुद्ध भएको छ । शुक्रबार दिउँसोदेखि सञ्चालनमा आएको यस सडकमा अविरल वर्षासँगै बेँसीसहर नगरपालिका–६ खरखरे भीरमा शनिबार बिहान पहिरो जाँदा पुनःअवरुद्ध भएको हो ।
खरखरे भीरमा ठुला–ठुला ढुङ्गासहितको पहिराले सडक अवरूद्ध बनाएपछि यात्रु बिहानदेखि नै अलपत्र परिरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जगदीश रेग्मीले बताए ।
उनले भने, ‘त्यहाँ ठूलो पहिरो विगतमा गएकाले हल्का पानी पर्दा पनि पहिरो जाने र सडक अवरूद्ध हुने ठाउँ हो । झन केही दिनयता ठूलो वर्षा भइरहेकाले पहिराले सडक अवरूद्ध बनाइरहेको छ ।’
प्रहरीका अनुसार १०÷१५ मिटर सडक नै अवरूद्ध बनाएको छ । सोही वडाको बेलौती बिसना नजिकै पनि पहिराले सडक अवरूद्ध बनाएको छ ।
यतिबेला डुमे्र–बेँसीसहर–चामे सडक योजना कार्यालय लमजुङको स्काभेटरले खुलाउने प्रयास गरेपनि कति समय लाग्ने यकिन नभएको बताइएको छ ।
बेँसीसहर चामे सडक लमजुङ र मनाङ जिल्ला जोड्ने एकमात्र सडक हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij