वेबटिभी खबर
काठमाडौं । सत्ता गठबन्धन दल जनता समाजवादी पार्टीका प्रमुख सचेतक सांसद प्रमोद साहले मन्त्रीको जिल्लामा मात्र बजेट राखिएको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभामा बजेट माथि भएको छलफलमा बिहीबार बोल्दै सांसद साहले आवश्यकता भएको ठाउ्रँमा नभएर जरुरी नै नभएको ठाउँमा बजेट जाने गरेकोमा दुःख व्यक्त गरे ।
खानेपानी मन्त्रालयले विनियोजन गरेको बजेट अध्ययन गर्दा मधेस प्रदेशमा ३० करोड ६२ लाख छुट्टिएको र त्यसमध्ये ९० प्रतिशत खानेपानी मन्त्री उमाकान्त चौधरीको जिल्ला बारामा राखिएको भन्दै साहले आपत्ति जनाए ।
‘मधेस प्रदेशको बाँकी ७ जिल्लामा जम्मा १० प्रतिशत बजेट छुट्याएको रहेछ,’ उनले भने, ‘मन्त्री नभएसम्म त बजेट जाँदो रहेन छ त !’
मन्त्री भएको जिल्लामा मात्र बजेट जाने गरेको उल्लेख गर्दै उनले सांसदहरु किन मन्त्री बन्न मेहनत गर्छन भन्ने यसबाट पनि देखिने बताए ।
‘मन्त्रीको जिल्लामा मात्र बजेट जाने हो भने सबै सांसद मन्त्री बन्ने दौडमा लाग्छन्,’ उनले भने, ‘बजेट कहाँ आवश्यकता छ त्यो ठाउँमा पुगिरहेको अवस्था छैन् । चाहिने ठाउँमा नजाने र नचाहिने ठाउँमा बजेट पुग्ने गरेको छ ।’
अर्काे प्रसंगमा उनले राष्ट्रिय गौरवका आयोजना बन्न ढिलाई हुने गरेकाेमा पनि ध्यानाकर्षण गराए । ६ वर्षमा बन्ने योजना बनाउन २५ वर्ष लाग्ने अवस्था रहेको उल्लेख गर्दै उनले भने, ‘यसले गर्दा जनताले कुनै पनि सुविधा समयमा पाउन सकिरहेका छैनन् ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij