वेबटिभी खबर
काठमाडौं । कोरोना भाइरसको संक्रमण यतिवेला दक्षिण एशियामा तीव्र रुपमा बढिरहेको छ । कोभिड-१९ भाइरसले आफ्नो स्वरुप छिटो छिटो फेरिरहेको छ र यसको नयाँ भेरिएन्टकै कारण संक्रमण धेरै फैलिएको बताइएको छ । यसबीच कोरोना खोप नयाँ भेरिएन्टमा प्रभावकारी छ वा छैन भनेर बहस पनि भइरहेको छ ।
यसबारे न्युयोर्कस्थित राकफेलर विश्वविद्यालयको एक अध्ययनले नयाँ भेरिएन्टमा पनि खोप प्रभावकारी देखिएको न्यु इंग्ल्यान्ड जर्नल अफ साइन्समार्फत खुलासा गरेको छ ।
न्युयोर्कस्थित राकफेलर विश्वविद्यालयका वैज्ञानिकले फाइजर मोर्डनाको खोप लगाइसकेका चार सय १७ जनामा अध्ययन गरेको थियो । यसमा एक महिला खोपको दोस्रो डोज लगाइसकेको १९ दिनपछि र अर्की महिला खोप लगाएको ३६ दिनछि कोरोना भाइरसबाट संक्रमित भएका थिए ।
शोधकर्ताले यी दुई महिलाको अध्ययन गर्दा दुवैमा पर्याप्त मात्रामा न्युट्रिलाइजिङ एन्टीबडिज पाइएकाले खोपले काम गरिरहेको पुष्टि भएको बताएका छन् । अनुसन्धानमा खोप बेलायतको भेरिएन्ट एवं न्युयोर्क भेरिएन्टविरुद्ध लड्न प्रभावकारी रहेको छ ।
यसबाहेक महिलामा कोरोना भाइरसको भेरिएन्टको अनुसन्धान गर्दा दुवैमा अलग अलग भेरिएन्ट पाइएको छ । ती दुई महिलामध्ये एकमा तीनपटक म्युटेशन भएको भाइरस भेटिएको छ । वैज्ञानिकले नयाँ भेरिएन्टको जिनोम सिक्वेन्सिङका आधारमा यो भेरिएन्ट बेलायत र न्युयोर्क भेरिएन्टको संयोजन रहेको बताएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij